हात्तीपाइलेको सर्वेक्षण शुरु

admin

रुकुमपश्चिम, ५ जेठ: रुकुम पश्चिम र पूर्वमा आजदेखि हात्तिपाइले रोगको सर्वेक्षण शुरु भएको छ । राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रमअन्तर्गत हात्तिपाइलेको अवस्था पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण शुरु गरेको हो । नमूनाका रुपमा रुकुम पश्चिममा १२ र रुकुम पूर्वमा छ गरी १६ विद्यालयमा सर्वेक्षण गर्न लागिएको छ । हात्तिपाइले रोग विरुद्ध छ चरणमा औषधि खुवाइसकेपछि हात्तिपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन सर्वेक्षण गर्न लागिएको सर्वेक्षण कार्यक्रमका सुपरभाइजर सञ्जयबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुम पश्चिममा छ स्थानीय तह मध्येमा प्रति विद्यालय दुई वटाका दरले १२ र रुकुम पूर्वमा तीन स्थानीय तह रहेकामा भुमे गाउँपालिकाका तथा सिस्ने गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाका एक÷एक विद्यालयमा अध्ययनरत् कक्षा १ र २ का विद्यार्थीमा हात्तिपाइलेको परीक्षण हुनेछ । सो विद्यालय विश्व स्वास्थ्य सङ्गठनले छनोट गरेको उहाँको भनाइ छ ।

दुवै जिल्लामा जेठ १० गतेसम्म सर्वेक्षण पूरा भइसक्ने बताइएको छ । रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान र रोल्पालाई एउटा युनिट मानेर हात्तिपाइलेको सर्वेक्षण शुरु भएको हो । रुकुम पश्चिम र पूर्वमा सर्वेक्षण पूरा भएपछि आधा टोली सल्यान र आधा टोली रोल्पा जाने छ । सो रोगको निवारणका लागि जिल्लामा यसअघि छ चरणसम्म हात्तिपाइले विरुद्धको औषधि खुवाइएको थियो । रासस

प्रतिक्रिया