युवा वैज्ञानिकको सहभागिता बढाउनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

admin

काठमाडौँ, ५ जेठ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झलनाथ खनालले मुलुकको विकासका लागि युवा वैज्ञानिकको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ । पोलिमार विश्व वैज्ञानिक सञ्जाल, त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र नेपाल पोलिमार इन्स्टिच्युटको आयोजनामा आजदेखि शुरु भएको ‘पोलिमार–२०१९ अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले मुलुकको विकासका लागि युवा वैज्ञानिक जाग्नुपर्ने बेला आएको बताउनुभयो ।

“विदेशमा हासिल गरेका ज्ञान सीपलाई स्वदेशमा प्रयोग गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले नेपालमा राजनीतिक मुद्दा सकिएको भन्दै अब मुलुकलाई आर्थिक विकासमा अगाडि लैजान युवा वैज्ञानिकको खाँचो रहेको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि वैज्ञानिकका महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)का कार्यकारी निर्देशक प्रा डा रामेश्वर अधिकारीले नेपाली युवा वैज्ञानिकलाई विश्वका ख्याति प्राप्त विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग सहकार्य गर्न सम्मेलनले सहयोग पुग्ने बताउनुभयो । सम्मेलनले नेपालको स–साना प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । नेपाल पोलिमार इन्स्टिच्युटका अध्यक्ष राजेश पण्डितले युवा वैज्ञानिकलाई पोलिमार (प्लाष्टिकजन्य वस्तु) सम्बन्धी अनुसन्धानमा अगाडि बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विश्वका अन्य देशका नाम चलेका वैज्ञानिकलाई नेपालको वैज्ञानिकसँग सहकार्य गरेर अगाडि बढाउन सम्मेलनले सहयोग पुग्ने बताउनुभयो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, चीन, फ्रान्स, इटाली, मलेसिया, पोल्याण्ड, साउदी अरब, जर्मनी, मेक्सिको, रसिया, सर्विया, स्पेन, अमेरिका, न्युजरल्याण्डलगायत २३ देशका युवा वैज्ञानिकको सहभागिता रहेको छ । सम्मेलन पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया