जेठभित्रै सबै एकीकरण सक्छौँ : नेता खनाल

admin

इलाम, ७ जेठ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताउनुभएको छ । उहाँले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गर्नुभयो ।


नेकपाका जिल्ला तहका पदाधिकारीलाई आज शपथ ग्रहण गराउन यहाँ आउनुभएका उहाँले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताउनुभयो । उहाँले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गर्नुभयो । पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दैे उहाँले इतिहास नबिर्सिन सबैलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले कार्यकर्तालाई पार्टीगत सिद्धान्त, इतिहासको अध्ययन र परिस्थितिको अध्ययन गर्नसमेत आग्रह गर्नुभयो । उहाँले विगतमा कम्युनिस्ट विभाजन हुँदा देशले प्रतिकूलता सहनु परेको उल्लेख गर्नुभयो । विगतमा आपसी समस्याका कारण कम्युनिस्ट पार्टीबीच नै झै–झगडा, प्रतिस्पर्धा र काटमारको परिस्थितिसमेत आएको उल्लेख गर्दै उहाँले अब कम्युनिस्ट एक हुँदै गएको जिकिर गर्नुभयो ।

प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताउनुभयो । उहाँले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गर्नुभयो । प्रदेशका सह–इञ्चार्ज सावित्रीप्रसाद काफ्लेले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय इतिहास भएको बताउनुभयो ।रासस

प्रतिक्रिया