जुम्लाका युवा अटो व्यवसायमा

admin

सिञ्जा, ७ जेठ : जुम्लाका अधिकांश युवाले अटो चलाएर रोजगारी गरिरहेका छन् । रु पाँच लाखदेखि रु सात लाखको लागतमा अटो खरिद गरेर एक सयभन्दा बढी युवा मासिक रु २० देखि ३० हजार आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोगजारीबाट फर्केका युवाहरु अहिले आफ्नै ठाउँमा अटो सञ्चालन गरेर स्वरोजगार बनेका हुन् ।आफ्नै ठाउँमा अटो–रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकसमेत अटो–रिक्सातर्फ आकर्षित भएका छन् ।

तीन वर्ष काम गरेर मलेसियाबाट फर्केका तातोपानी गाउँपालिका–६ खड्कावाडाका २२ वर्षीय प्रेम खड्काले अटो–रिक्सा चलाएर मासिक रु ३० हजार कमाउने गरेको बताउनुभयो । खर्च काटेर दिनको रु एक हजार बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

रु सात लाखमा किस्ताबन्दीमा अटो–रिक्सा किनेको उहाँले कमाएर घरपरिवारको खर्च कटाएर मासिक रु १५ हजार किस्ता चुक्ता गर्दै आएको जानकारी दिनुभयो । एसईई पास गरेर रोजगारीका लागि अवसर नपाएर आफूले अटो खरिद गरी स्वरोजगार भएको उहाँले बताउनुभयो । जुम्लामा दुई वर्षदेखि अटो–रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको उहाँले बताउनुभयो । ठूला सवारी नपुगेका गाउँघरका बाटोमा पनि अटो–रिक्सा पुग्ने गरेका छन् । ग्रामीण क्षेत्रमा अटो–रिक्साले एम्बुलेन्सको पनि काम गरेको छ ।

एम्बुसलेन्स खोजेको नपाइँदा तुरुन्तै गाउँकै अटो–रिक्सा बोलाएर बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ । हाल जुम्लाका अटो रिक्साले चन्दननाथ नगरपालिकाभित्र र तातोपानीको एरेनीसम्मको इजाजत पाएको बताइएको छ । हाल जुम्लामा ६० भन्दा बढी अटो सञ्चालनमा छन् । रासस

प्रतिक्रिया