भारतमा मतगणना जारी, प्रारम्भिक रुझान सत्तारुढ गठबन्धनतर्फ

शर्मिला गुरुङ

नयाँदिल्ली, ९ जेठ (रासस÷एएनआई) – भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले फेरि बहुमत ल्याउने देखिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन (एनडीए) ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसको प्रगतिशील गठबन्धन (युपिए) ले १०० स्थानको हाराहारीमा मात्र अग्रता बनाएको छ ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले पश्चिम बंगालमा व्यापक सुधार गर्ने अपेक्षा पनि गरिएको छ ।

भाजपाले बहुमत ल्याएमा प्रधानमन्त्री नरेन्द्र मोदी नै देशको भावी प्रधानमन्त्री हुने निश्चित भइसकेको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । यस पटकको लोकसभाको चुनाव गत अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा सम्पन्न भएको थियो ।

चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ ।

प्रतिक्रिया