चुक बेचेर आत्मनिर्भर बन्दै महिला

admin

रामपुर, ९ जेठ : पाल्पाको रम्भा गाउँपालिका–३ अगाहाखोलाका महिलाहरु अमिलो(निबुवा)बाट तयार पारिने चुक बिक्रीबाट आत्मनिर्भर बनेका छन् । गाउँमा बाँदरले हैरान पारेपछि स्थानीयवासी महिलाले अन्य खेती छाडेर अमिलो खेती गर्दै आएका छन् । गाउँमा हुल बाँधेर आउने बाँदरले किसानले खेतबारीमा लगाएका तरकारी तथा अन्नबाली खाएर हैरान पारेपछि ती अमिलो(पाल्पामा निबुवालाई भनिने) खेतीतर्फ आकर्षित भएका हुन् ।


अन्नबाली खाइदिने बाँदर कुर्न गाउँका युवा विदेशिएको र जागिर तथा पढाइको सिलसिलामा बाहिर रहेका कारण पनि अमिलो खेतीमा आकर्षित भएको महिलाहरुको धारणा छ । अगाहाखोलाका सरिता कार्कीले भन्नुभयो, “अमिलोलाई बाँदरले खाँदैन, त्यसैले यो खेती गर्न र अमिलोको दाना तथा चुक बिक्रीका निम्ति सजिलो छ ।” तीन वर्षअघिदेखि अमिलो खेती गर्दै आउनुभएका कार्कीको बारीमा अहिले ३०० को हाराहारीमा निबुवाका रुख छन् । अमिलोको दानालाई प्रतिदाना रु १५ तथा अमिलोबाट तयार पारिने चुकलाई रु ८०० सम्ममा बिक्री गर्दै आएको कार्कीको भनाइ छ । उहाँले ग्यालिनमा चुक भरेर पाल्पाका विभिन्न ठाउँसँगै गुल्मी, स्याङ्जा र कास्कीसम्म पु¥याउनुुहन्छ । अमिलो बेचेर महीनामा करीब रु ६० हजार आम्दानी भएको कार्कीले बताउनुभयो । उहाँले १५ रोपनी जग्गामा अमिलो लगाउनुभएको छ ।

दुई छोराछोरीकी आमा कार्कीका श्रीमान् नेपाली सेनामा हुनुहुन्छ । आफूले खर्च गर्ने पैसा आफँै कमाएर आत्मनिर्भर भएकामा खुशी लागेको उहाँको भनाइ छ । कार्कीले भन्नुभयो, “काम नभएर दिनभरि खाली बस्नुपर्दैन, घरखर्चका निम्ति आफैँले पैसा कमाउँछु, आफँै आत्मनिर्भर भएको छु ।” गाउँका युवा सबै विदेशिएकाले प्रायः महिलाहरु नै अमिलो खेतीमा सक्रिय देखिएका छन् । धेरै पटक गोडमेल गर्न र खेती स्याहार्न समस्या नभएका कारण पनि महिलाले अमिलो खेतीलाई राम्रो आम्दानी दिने खेतीका रूपमा रोजेका छन् । अगाहाखोलाकै सीता रायमाझी पनि अमिलोको चुकबाट महीनामा रु ५० हजारसम्म आम्दानी गर्नुहुन्छ । प्रायः जाडो मौसममा अमिलो पेलेर चुक तयार पार्ने र गर्मी महीनामा बढी बिक्री हुनाले चर्को घाममा बिक्रीका लागि गाउँगाउँ घुम्ने रायमाझीको भनाइ छ ।

भिरालो जग्गामा प्रायः मकै तथा बोडा सिमीलगायत परम्पराग खेती गर्दै आए पनि आजभोलि बाँदर कुर्ने मानिसको अभावमा अमिलो खेती गरेको सीताको धारणा छ । चुक बिक्रीबाटै छोराछोरी पढाउन र घरव्यवहार चलाउन चुक बिक्रीबाट सजिलो भएको महिलाले बताएका छन् । अगाहाखोलाका करीब २० घरका महिलाले छुट्टाछुट्टै निजी जग्गामा अमिलो खेती गर्दै आएका छन् । रम्भा गाउँपालिकाका अगाहाखोला, पीपलडाँडा, शिखरडाँडा, खोकखोला, गोरुङ्गा, लुङ्करेलगायत स्थानमा बाँदरले हैरान पारेपछि स्थानीय किसानले अमिलो खेती गर्दै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । समुद्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाइमा रहेको अगाहाखोला क्षेत्रका किसान अमिलो खेतीबाट आत्मनिर्भर बन्दै आएका छन् । चुक बिक्रीबाट महिलाको जीवनयापन पनि सजिलो भएको छ ।रासस

प्रतिक्रिया