‘गलत नियतका व्यक्ति प्रहरी सङ्गठनमा अटाउँदैनन्’ :महानिरीक्षक खनाल

admin

काठमाडौँ, ९ जेठ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले महसुस गर्ने गरी कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कर्मचारीलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सङ्गठनको उद्देश्यअनुसार राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउने गरी अपराध नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँग समन्वय गरेर काम गर्नुपर्नेमा महानिरीक्षक खनालले जोड दिनुभयो । उहाँले कानून कार्यान्वयनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । सङ्गठनमा आँच आउने कार्य गर्न कसैलाई छुट नभएको खनालको भनाइ थियो । उहाँले भन्नुभयो, “गलत नियत भएकालाई कुनै छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन सक्दैनन् ।” उहाँले विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा र नागरिकसँग प्रत्यक्ष सहकार्य गर्ने प्रहरीको बोली, व्यवहार र क्रियाकलाप सरल तथा स्वच्छ हुनुपर्ने बताउनुभो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याइने बताउनुभयो । छ महीनाको अवधिमा मादक पदार्थ सेवन नियन्त्रण र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको जानकारी दिनुभयो । उहाँले बेरुजु फछ्र्योटमा प्रहरी सफल भएको र आपराधिक गतिविधि नियन्त्रणमा सफलता प्राप्त भएको बताउनुभयो । रासस

प्रतिक्रिया