‘सूचना अधिकारी आफैँ सूचनाविहीन’

admin

जनकपुरधाम, ९ जेठ: धनुषाका हरेक सरकारी निकायका सूचना अधिकारी आफैँ सूचनाविहीन अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘सूचनाको हकको संरक्षण तथा सम्वद्र्धन’ विषयक छलफलका सहभागीले अन्तर निकाय समन्वय र सहयोगको अभावका कारण सूचना अधिकारी आफैँ सूचनाविहीन हुनुपरेको बताउनुभयो ।

फाँटले सूचना उपलब्ध नगराउने प्रवृत्ति, अद्यावधिक नगर्ने मानसिकता र कर्मचारीको असहयोगले सूचनाको हक स्थापित गर्नमा समस्या देखिएको सहभागीले बताउनुभयो । सूचना माग्ने प्रवृत्ति न्यून, माग हुँदा पनि अलमलिने प्रवृत्ति, सूचनाको दुरुपयोग, कमजोर नागरिक सचेतना र अभिलेख व्यवस्थित नहुनुले पनि स्वेच्छाचारिता हाबी रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ । सूचनाको हकसम्बन्धी ऐन, नियमावलीमा सार्वजनिक निकाय र पदाधिकारीले सूचना प्रकाशन गर्नुपर्ने, सूचनाबापत लाग्ने दस्तुरको दाखिला, पुनरावेदन, दर्ता, कारवाही र निर्णयको व्यवस्था गरिए पनि कार्यान्वयन पक्ष फितलो रहेको कार्यक्रमका सहभागीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बेथितिको अन्त्यका लागि व्यवहारगत, आचरणगत सुधार, अभिलेख सुधार, क्षमता विकास कार्यक्रम सञ्चालन, प्रक्रियागत सरलीकरण र स्थानीय तह बढी जिम्मेवार हुनु आवश्यक रहेको धारणा राख्नुभयो । नागरिक समाजका अगुवा मुरलीमनोहर मिश्रले जनकपुरस्थित स्वर्गद्वार नामक संस्था अपारदर्शी र अवैधानिक ढङ्गले सञ्चालनमा रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । नेपाल पत्रकार महासङ्घ धनुषाका कोषाध्यक्ष अवधेश कामतले सूचना अधिकारीले सूचना उपलब्ध नगराउने मानसिकता अधिक देखिएको प्रसङ्ग उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया