एक टोल एक सार्वजनिक शौचालय

रिता घिसिंग

पोखरा, १० जेठ : पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि रु एक करोड विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गरिने जानकारी गराउनुभयो । पोखराको हल्लनचोक र डेभिजफल्समा पूर्ण अपाङ्गतामैत्रीसहितका शौचालय निर्माणकार्य अघि बढेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाले जनाएको छ ।

सोअनुरुप पोखराको वडा नं ७ स्थित मालपोत, वडा नं १ स्थित हरिचोक, वडा नं २५ को मिलनचोक, वडा नं २६ को राखीडाँडा, वडा नं २८ को रत्नशोभा माविको परिसर, वडा नं १८ को भकुण्डे, वडा नं २१ को दोबिल्ला वनभोजस्थल र गौरीशङ्कर आधारभूत विद्यालयको परिसरमा आधुनिक शौचालय निर्माण गरिने सो महाशाखाले जनाएको छ ।

यसका साथै प्रदेश सरकारले पोखराको चार ठाउँमा स्मार्ट शौचालय निर्माणका लागि रु ५० लाख सहयोग गरेको छ । हल्लनचोक, डेभिजफल्स, पोखरा–७ स्थित मालपोत र वडा नं १ स्थित हरिचोकमा स्मार्ट शौचालय निर्माण गरिने जानकारी गराइएको छ ।

यसैबीच, पोखरा–२१ मा सार्वजनिक शौचालय निर्माणको काम शुरु भइसकेको वडाध्यक्ष खगराज आचार्यले जानकारी गराउनुभएको छ । यस वडाका ३१ वटै टोलमा एक÷एक सार्वजनिक शौचालय निर्माण गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो । महानगरपालिकाका विभिन्न टोलका साथै व्यस्त ठाउँमा शौचालय निर्माण भएपछि सरसफाइका साथै सर्वसाधारणले राहतको अनुभूति गर्ने विश्वास लिइएको छ ।रासस

प्रतिक्रिया