वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयद्वारा विरोध प्रदर्शन

रिता घिसिंग

भीमदत्तनगर, १० जेठ (रासस) : कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । बिहीबार राति पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो ।



कुटपिटबाट घाइते भएका अर्यालको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धनगढी लगिएको छ । स्थानीयवासीले वडाध्यक्षमाथि कुटपिट भएपछि डोकेबजार चौकीमाथि तोडफोड गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

आफूहरुको जनप्रतिनिधि प्रहरी अधिकृतको निर्देशनमा कुटिएको भन्दै स्थानीयले डोकेबजार–बेलौरी हुलाकी सडक ठप्प पार्नुका साथै स्थानीय बजारसमेत बन्द गराएका छन् । गाउँमा युवायुवतीको विवाद मिलाउने क्रममा वडाध्यक्ष अर्याललाई रोहबर बस्न राति चौकी बोलाइएको थियो ।

स्थानीयवासीको तोडफोड र प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले विवाद साम्य पार्ने विषयमा छलफल गरिरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

प्रतिक्रिया