सूर्यविनायकद्वारा ३७ कानून निर्माण, लक्ष्यभन्दा ३२७ प्रतिशत राजश्व वृद्धि

admin

भक्तपुर, १० जेठ: सूर्यविनायक नगरपालिकाले दुई वर्षको अवधिमा ३७ वटा नयाँ कानूनको निर्माण गरेको जनाएको छ । सूर्यविनायक नगरपालिकामा जननिर्वाचित प्रतिनिधिले पद बहाली गरेको आज दुई वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले ३७ वटा नयाँ कानून निर्माण भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाले चालू आव ०७५÷७६ को १० महीनामा भौतिक विकासतर्फ ७९ प्रतिशत प्रगति हासिल गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि चालू खर्चतर्फ रु ३९ करोड २४ लाख ४३ हजार र पूँजीगततर्फ रु ३७ करोड ४५ लाख २७ हजार गरी कूल रु ७६ करोड ४५ लाख २७ हजारको वार्षिक बजेट स्वीकृत गरिएकामा ०७६ वैशाख मसान्तसम्म चालूतर्फ ७९ प्रतिशत र पूँजीगततर्फ ७१ प्रतिशत रकम खर्च भएको रकम रहेको नगर प्रमुख थापाले जानकारी दिनुभयो । आव ०७५÷७६ मा रु १२ करोड १० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा गत वैशाख मसान्सम्म रु ३९ करोड ५४ लाख ८९ हजार ९५७ राजश्व सङ्कलन गरेको उहाँको भनाइ थियो । उहाँका अनुसार नगरपालिकाले १० महीनाको अवधिमा ३२७ प्रतिशत आन्तरिक राजश्व वृद्धि गरेको छ ।

गत वैशाख मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु २८ करोड, ३५ लाख, १४ हजार ९५७, सङ्घको राजश्व बाँडफाँटमा रु नौ करोड १४ लाख ६५ हजार, प्रदेशको राजश्वतर्फ रु दुई करोड, नगद लागत साझेदारी रकम रु दुई करोड पाँच लाख, सामाजिक सुरक्षा भत्तावापत रु चार करोड ८६ लाख, सङ्घको समानीकरण अनुदान रु १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान रु ९२ लाख ८२ हजार, सङ्घको सशर्त अनुदान रु १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु पाँच करोड ८५ लाख, सडक बोर्डको रकम रु २५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु एक करोड पाँच लाख र अन्य आय रु एक करोड ५७ लाख गरी जम्मा रु ९१ करोड ७७ लाख ३५ हजार ७०७ नगरपालिकाको आम्दानी भएको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा वडा गतरुपमा १४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ११३ वटा योजना हालसम्म सम्पन्न भइसकेको छ । बाँकी २३ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ वटा योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपत्यकाको सडक विस्तारमा योगदान पु¥याउँदै आएको उपत्यका विकास प्राधिकरण खारेज गर्न नहुने बताउनुभयो । उहाँले भक्तपुरमा सबै केबुल तार अण्डरग्राउण्ड गर्न रु १० अर्ब लागत लाग्नेमा हाल रु डेढ अर्ब रकम विनियोजन गर्न सफल भएको बताउँदै उहाँले अरनिको राजमार्गलाई हरियाली बनाउने अभियान र डोलेश्वर एवं अनन्तलिङ्गेश्वरमा हरियाली पार्क बनाउने कार्यको शुरुआत हुन लागेको बताउनुभयो ।

सांसद बस्नेतले युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा लैजान रु दुई करोड ५० लाख, हनुमन्ते करिडोर आगामी वर्ष निर्माण सम्पन्न गर्नेगरी थप रु एक अर्ब ५० करोड, मनोहरा करिडोर बहुवर्षीय आयोजनामा पार्न सफल भएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, पत्रकार सोम शर्मा बजगार्इं लगायतले देशकै नमूना नगरपालिकाका रुपमा सूर्यविनायक नगरपालिकाको काम गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया