३३४ सांसदमध्ये पाँच महिनामा २७ मात्रै छिरे पुस्तकालय

admin

काठमाडौं, जेठ ११ : सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर, सांसदहरू पुस्तकालय नै जाँदैनन् । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन् ।

पुस्तक लगेका कतिपय सांसदले फिर्ता गरेका छैनन् : रामनारायण बिडारी,
सभापति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति (राष्ट्रिय सभा)

हामीले समितिका तर्फबाट पुस्तकालयको अनुगमन गरेका थियौँ । संविधानसभा तथा व्यवस्थापिका संसद् हुँदा सांसदहरूले लगेका कतिपय पुस्तक फिर्ता नभएको पाइएको छ । खोजेको पुस्तक नपाउने, तर एउटै पुस्तक ५० थानसम्म किन्ने प्रवृत्ति पनि पाइएको छ । अबको बजेटबाट पुस्तक के–कति किन्ने भन्नेबारे हामी सचिवालयलाई निर्देशन दिन्छौँ । समिति अहिले पनि पुस्तकालय सुधारमा लगातार लागिरहेको छ । पुस्तकालयमा ००८ सालदेखिका राजपत्र पाइँदैनन् । त्यसको खोजी गर्ने र पुस्तकालयमा ल्याउने काम समितिले गरिरहेको छ । सचिवालयलाई आवश्यक निर्देशन दिइनेछ ।

कुहिँदै पुस्तक
०५६ अघिसम्म संसद्को पुस्तकालय हाल सचिवालय रहेको भवन नम्बर एकमा थियो । त्यसपछि भने भवन नम्बर दुईको एउटा तलामा पूरै पुस्तकालय राखियो । त्यो तलामा अहिले राष्ट्रिय सभाको सचिवालय तथा अन्य पदाधिकारीको कार्यकक्ष बनाउने भन्दै पुस्तकालयलाई भुइँतलामा सारिएको छ । सचिवालय स्रोतका अनुसार हाल भुइँतलामा पुस्तक असरल्ल छरिएका छन्, कतिपय कुनामा फालिएका छन् । धेरै पुस्तकमा ढुसी लागिसकेको छ, नष्ट हुने जोखिम छ । पुस्तकालय लथालिंग बनेको छ । त्यहाँ पुग्ने सांसदहरू बसेर पढ्ने ठाउँ नभएको गुनासो गर्छन् ।

पढ्न जानेजस्तो नै छैन पुस्तकालय : गगन थापा, कांग्रेस सांसद
संसद्को लाइब्रेरी हामीले खोजेजस्तो, चाहिएजस्तो बनाउने विषयमा एकपटक महासचिवसँग पनि कुरा गरेका थियौँ । पुस्तकालय बाहिरी सहयोगविनै बनाउनुपर्छ । संसद्को लाइब्रेरी यस्तो होस् जहाँ रिसर्च गर्ने टिम होस्, विधेयकमा कुनै प्रस्ताव वा विचार राख्दा हामीले राख्ने प्रस्ताव संविधान वा कानुनअनुरूप छ कि छैन, बाहिरी अभ्यास के छ भनेर बुझ्न सकिने र सुझाउने टिम होस् । त्यस्तो टिम भए सांसदलाई सहयोग पुग्थ्यो, सांसदको प्रस्तुति पनि राम्रो हुन्थ्यो । तथ्य–तथ्यांकसहित बोल्न पाइन्थ्यो । तर, त्यस्तो छैन । मैले संसद्को लाइब्रेरी गएर विभिन्न विधेयकमाथि बोल्ने विषय के पाउँछु ? त्यही भएर म यो लाइब्रेरी असाध्यै कम प्रयोग गर्छु ।

व्यवस्थित नै छैन : देव गुरुङ, प्रमुख सचेतक, नेकपा
अध्ययन–अनुसन्धान गर्नुपर्दा पुस्तकालय जाने हो । तर, संसद्को पुस्तकालयमा पर्याप्त र खोजेजस्तो पुस्तक पाइँदैन भन्ने सांसदहरूको गुनासो सुनिन्छ । ठाउँ सानो छ, त्यो पनि व्यवस्थित छैन । सरकारले छुट्टै भवन दियो भने व्यवस्थापन गर्दा राम्रो हुन्थ्यो । अब संसद्को आफ्नै भवन बनाउने कुरा सरकारले गरेको छ । त्यसपछि व्यवस्थित बनाउनुपर्छ ।

पढ्ने वातावरण नै छैन : अग्नि सापकोटा, नेकपा सांसद
संसद्को लाइब्रेरीमा अध्ययन, खोज गर्नलायक पुस्तक भेटिन्नन् । तैपनि पत्रपत्रिका र समसामयिक विषय अध्ययन गर्न म प्रायजसो पुग्छु । पुस्तकालयको ठाउँ नै उपयुक्त भएन । कर्मचारी नजिकै हो–हल्ला गरिरहेका हुन्छन् । फोनको घन्टी बजिरहेको हुन्छ । बस्ने ठाउँ साँघुरो छ । त्यस्तो साँघुरो ठाउँ र हो–हल्लाबीच अध्ययन गर्न गाह्रो छ । संसद्को पुस्तकालयलाई आमूल परिवर्तन गर्न जरुरी छ ।

प्रतिक्रिया