गोकर्णको शहीद स्मारकका पदाधिकारी हटाइयो

admin

काठमाडौँ, ११ जेठ : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार वर्षदेखि अलपत्र भएपछि समितिका पदाधिकारीलाई हटाइएको शहरी विकास मन्त्रालयले जनाएको छ ।साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत बनिरहेको स्मारक मन्त्रालय खारेजीसँगै शहरी विकास तथा भवन निर्माण विभाग मातहत ल्याइएको थियो । मन्त्रालयले यसअघि गठन गरेको छानबिन समितिको प्रतिवेदनअनुसार समितिका पदाधिकारीलाई शुक्रबार मन्त्री मोहम्मद इश्तियाक राईले मन्त्रीस्तरीय निर्णय गर्नुभई सधन्यवाद बिदा दिइएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले राससलाई जानकारी दिनुभयो ।

विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णमा विसं २००७ देखि २०६२÷६३ सम्मको स्वतन्त्रताका लागि बलिदानी गर्ने शहीदको स्मृतिमा स्मारक (उद्यान) निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले स्मारक बनाउने निर्णय गरेको १३औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा समिति खारेजीमा परेको छ । गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा स्मारक निर्माण भइरहेको छ ।

स्मारक निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईको ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि २४ संरक्षणविद्को स्मृतिमा घुन्सा स्मृति स्मारकसमेत गोकर्णमै बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सरकार–समुदाय–निजी साझेदारीमा निर्माण भएको हो । साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति परियोजनामार्फत स्मारक निर्माण शुरु भएको थियो । विसं २०७४ चैतमा मन्त्रालय खारेजीमा परेपछि चालू आर्थिक वर्षमा आयोजनामा कुनै काम हुन सकेन । करीब ८० प्रतिशत काम सम्पन्न भएर स्मारक अलपत्र छ ।

बिदा दिइएका स्मारक निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल लामो प्रयासपछि शहरी विकास मन्त्रालयअन्तर्गत रहने गरी आयोजना प्रमुख तोकिएकाले काम अघि बढ्ने समयमा समितिले बिदा पाएको समाचार सुनेपनि पत्र नपाएको बताउनुहुन्छ । “मेरो कारणले काम रोकिएको होइन, स्मारक बन्नुपर्छ भन्ने मेरो भनाइ हो”, उहाँले भन्नुभयो । सामुदायिक वन उपभोक्ता समूहको जग्गामा स्मारक निर्माण भएकाले १३औँ स्थापना दिवस वन समूहका तर्फबाट आयोजना गरियो । कार्यक्रममा शहीद परिवारका सदस्य खिलानाथ दाहाल, जिल्ला समन्वय समिति काठमाडौँकी सदस्य सान्नानी लामालगायतले स्मारकको काम छिटो गरिनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया