पनौती नगरपालिकाका सामुदायिक विद्यालयमा एउटै रंगको पोसाक

admin

धुलिखेल, ११ जेठ, काभ्रेको पनौती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुले एउटै रंगको पोसाक लगाउन पाउने भएका छन् । नगरपालिकाले आफ्नो नगरभित्रका सामुदायिक विद्यालयका सबै बालबालिकाका लागि एउटै रंगको पोसाक वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले पुण्य माविबाट पोसाक वितरण कार्य सुरु गरेको हो ।

पिङ्क कलरमा निलो लाइनिङ भएको सर्ट, निलो र खरानी कलरको मिक्स पाइट नगरपालिका भित्रका ३४ वाटै सामुदायिक विद्यालयका बालबालिकाले पाउने छन् । सर्टमा नगरपालिकाको लोगो समेत राखिने छ । यसअघि नगरपालिका विद्यालय नै पिच्छेको पोसाक थिए । ‘सामुदायिक विद्यालयमा पढ्ने नगरभित्रका सबै बालबालिकालाई एउटै रंगको पोसाक वितरण सुरु गरेका हौँ, नगरपालिकाका स्रोत ब्यक्ति महेश्वर जंगमले भने ‘बढीमा एकहप्ता भित्र सबै विद्यालयका बालबालिकाले पोसाक पाइसक्छन् ।’

नगरपालिकाको यो अभियानलाई पनौती उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ पनौती र लायन्स क्लबले समेत सहयोग गरेका छन् । करिब ५० लाख खर्च गरेर नगरपालिकाले झण्डै ५ हजार २ सय बालबालिकाका लागि एउटै रंगको पोसाक वितरण सुरु गरेको हो ।

सामुदायिक विद्यालयमा पढ्ने बालबालिका बीच समानता कायम गर्न एउटै रंगको पोसाकले मद्दत पुग्ने स्रोत ब्यक्ति जंगमले बताए । ‘यो एउटा नगरपालिकाले लिएको सामुदायिक विद्यालय सुधारकै अभियान भित्र पर्छ, उनले भने ‘विद्यालय नै पिच्छेको फरक फरक पोसाकले पनि बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ, यसले विद्यार्थी, विद्यार्थी बीचको समानता कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।’

यसैबीच नगरपालिकाले विद्यालयमा शिक्षकहरुको उपस्थितिलाइ नियमितता दिन भन्दै नगरभित्र रहेका १२ वटा माध्यामिक तहको विद्यालयमा डिजिटल हाजिरी मेसिन जडान गरेको छ । नगरपालिकाले डिजिटल हाजिरी मेसिन अन्य विद्यालयहरुमा समेत विस्तार गर्दै लैजाने बताएको छ ।

प्रतिक्रिया