हिन्दू धर्म संस्कृति हो : पूर्वप्रधानन्यायाधीश कार्की

admin

पोखरा, ११ जेठ: विश्व हिन्दू महासङ्घको दुईदिने सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु भएको छ । जगत्गुरु मोहनशरण देवाचार्यको उपस्थितिमा भएको सो महाधिवेशनमा ॐकार परिवारलाई ऐक्यबद्ध गर्नुपर्ने, हिन्दू धर्मका विभिन्न सम्प्रदायबीच आपसी एकता हुनुपर्ने, नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र आ–आफ्ना संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्नेलगायतका विषयमा वक्ताहरुले जोड दिनुभएको थियो ।

महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपाल परापूर्वकालदेखि तपोभूमि रहेकाले धर्म, संस्कृति र सभ्यतालाई कहिले पनि छोड्न नहुने विचार व्यक्त गर्नुभयो । हिन्दू धर्म सबै धर्मसँग समन्वय राख्दछ, उहाँले भन्नुभयो, “हिन्दू धर्म एउटा संस्कृति हो र धर्म भन्नाले धार्मिक आचरणको पालना गर्नु हो ।”

विश्व हिन्दू परिषद्का केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेलले राष्ट्र, धर्म र संस्कृतिको रक्षाका लागि दृढसङ्कल्पित हुनुपर्ने धारणा प्रकट गर्नुभयो । अर्का सांसद राजेन्द्र लिङ्देनले महाधिवेशन सफलताको कामना गर्दै राप्रपाले हिन्दू राष्ट्रको मागलाई निरन्तरता दिइरहेको बताउनुभयो । पूर्वसभामुख तारानाथ रानाभाटले कसैको प्रभावमा नपरी सार्वभौमसत्ता राष्ट्रको स्वतन्त्र नागरिक भए पनि धर्मको नाममा आक्रमण भएकाले ॐकार परिवारका साथै इस्लाम धर्मलाई पनि ऐक्यबद्ध पार्नुपर्ने सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपाललाई जोगाउनका लागि सनातन हिन्दू राष्ट्रको स्थापना हुनुपर्ने धारणा राख्नुभयो । विश्व हिन्दू परिषद्का अध्यक्ष डा रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त महाधिवेशनमा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, पीठाधीश रमानन्द सरस्वती, हिन्दू जागरण अभियानका संयोजक पण्डित रामकृष्ण उपाध्याय र नवलविहारी शरणलगायतले नेपालमा हिन्दूहरुको अवस्थाका साथै धर्म र संस्कृतिको विषयमा आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो । रासस

प्रतिक्रिया