नेपाली बजारमा भारतीय अखाद्य खानेतेल

मनिषा थापा

बाँके, १२ जेठ (रासस) : नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ ।



भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेल नेपाल भित्र्याइरहेका छन् ।

नेपालगञ्जका किराना व्यवसायी प्रदीप बर्माका अनुसार तस्करले प्रतिलिटर रु १० का दरले सामान बोक्ने (क्यारिङ) व्यक्तिलाई भाडा दिने गरेका छन् । उहाँले भारतीय तेलका कारण नेपाली उत्पादनमा समेत समस्या भइरहेको बताउनुभयो । “दैनिक करीब दुई हजार लिटरसम्म अखाद्य तेल अवैधरूपमा नेपाल भित्रिरहेको छ”, उहाँले भन्नुभयो ।

भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिक नेपाली खानेतेलको प्रयोग गर्ने गर्न थालेको रुपैडिहाका कपडा व्यवसायी सुमित चौरसिया बताउनुहुन्छ । उहाँले भन्नभयो, “यहाँको तेलमा धेरै मिसावट छ, हामी यहाँको तेल प्रयोग गर्दैनौँ, हामी पनि नेपालबाटै ल्याएर तेल खान्छौँ, यहाँको तेल ठीक छैन ।”

ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बेचबिखन भइरहेको छ । हानिकारक रसाइन मिसाएर बजारमा तोरीको तेल भनेर बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

भारतबाट भित्रिने अखाद्य मानिएका खानेतेलमा अत्यधिक मिसावट हुने गरेका कारण मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले तत्काल रोक्न स्थानीय प्रशासनले चासो देखाउनुपर्ने बताउनुहुन्छ, नेपालगञ्ज–१ का विश्वप्रकाश शर्मा । उहाँले भन्नुभयो, “यही उत्पादित तेल गुणस्तरयुक्त छ, अखाद्य भारतीय तेल आयात रोक्न स्थानीय प्रशासनले चासो देखाउनुपर्छ ।”

प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् । यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ । “खुला सीमानाकाको फाइदा उठाउँदै तस्करले भारतीय खानेतेल ल्याएर नेपाली बजारमा बिक्री वितरण गर्दा नेपाली उद्योग समस्यामा परेका छन्”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले भन्नुभयो ।

करोडौँको लगानीमा स्थापित नेपाली उद्योग लगानीकर्ताले गुणस्तरहीन तथा प्रतिबन्धित तेलका कारण नेपाली व्यवसायी धरासायी हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । सस्तो मूल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको बिक्री घटेको छ । भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो पनि हुने गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला कसैले घरायसी प्रयोजनका लागि एक÷दुई लिटर ल्याएको छ भने व्यावहारिकरूपमा सामान्यतया भन्सार राजश्व नलिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले त्यस्तो जाँच गर्ने गरेका छैनौँ । हामीसँग जाँचका लागि प्रविधि पनि छैन र हामीलाई जाँचको अधिकार पनि छैन ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइरहेको भन्ने सुन्नमा आएकाले अनुगमन गरेर त्यसमा पूर्णरूपमा रोक लगाउने बताउनुभयो ।

प्रतिक्रिया