घुघुती पर्यटकीय गन्तव्य बन्दै

admin

सिँजा, १४ जेठ : जुम्ला सदरमुकामस्थित कर्णाली प्राविधिक शिक्षालय रहेको घुघुती पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकसित हँुदै गएको छ । घुघुती अवलोकन गर्ने स्वदेशी पर्यटकको सङ्ख्या बढेसँंगै पर्यटकीय गन्तव्यका रुपमा विकसित हँुदै गएको हो । अहिले दिनमा १५ देखि २० पर्यटक आउने गरेको कर्णाली प्राविधिक शिक्षालयका कर्मचारी बताउँछन् ।

यस वर्ष मात्र तीन हजार जना आएको त्यहाँका कर्मचारी राजकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो । फागुनदेखि असोजमा सबैभन्दा बढी पर्यटक आउने गरेको बताइएको छ । अरु महिनाभन्दा सो अवधिमा हरियाली तथा रमाइलो वातावरण हुने भएकाले पर्यटक आउने गरेको उहाँको भनाइ छ । सो स्थानमा विसं २०३७ मा स्थापित शिक्षालय छ । जुम्लामा आउने सरकारी अधिकारीदेखि सुरक्षाकर्मी, सर्वसाधारण, र सामाजिक अभियानकर्मीले अवलोकन गर्ने गरेको जुम्लावासीको भनाइ छ । घुघुतीमा खास गरी अवलोकन गर्न, तस्वीर खिंच्न तथा भेटघाट गर्न युवकयुवती आउने गरेको तिमिल्सिनाको भनाइ छ ।

तिमिल्सिनाका अनुसार जुम्ला जिल्लाका प्रेमीप्रेमिकाको डेटिङ स्थलका रुपमा समेत घुघुतीलाई लिइएको छ । पछिल्ला केही वर्षयता पर्यटकको सङ्ख्या पनि वृद्धि हँुदै गएको छ । घुघुती नजीकै २०६६ सालदेखि होटल व्यवसाय गर्दै आउनुभएका पदम बुढ्थापाका अनुसार जुम्ला बजारबाट केटिएस हुँदै रारा ताल जाने पर्यटक चैतदेखि कात्तिकका बीचमा बढी आउने गरेका छन् । यहाँ ढुङ्गाले छाएका पुराना घर पनि छन् ।

स्वदेशी तथा कर्णालीका आन्तरिक पर्यटकको रोजाइमा घुघुती पर्दै आए पनि सरोकार निकायको ध्यान जान नसकेको केही स्थानीयवासीले गुनासो गरेका छन् । पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले पनि यस क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता रहेको होटल व्यवसायी बुढ्थापाको भनाइ छ । जुम्लामा गर्मी समय शुरु भएपछि घुघुतीको अवलोकन गर्ने तथा तस्वीर खिंच्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । हाल एक दिनमा तीनदेखि १२ जनासम्म घुघुतीको अवलोकन तथा तस्वीर खिंच्न आउने गरेको बताइएको छ ।

आजभोलि शनिबारका दिन बिहानैदेखि तस्वीर खिंच्न र वनभोज खानका लागि १२ देखि २५ वर्ष उमेर समूहका युवा समूह मिलाएर त्यहाँ जाने गएका छन् । समयअनुसार सरकारी तथा गैरसरकारी कार्यालयका टोली पनि वनभोज खान र अवलोकन गर्न जाने गरेका छन् । अवलोकनका लागि गएका पर्यटकले बढीमा एक घण्टासम्म ताल र शिक्षालयसँग रमाउँदै सेल्फी खिंच्ने गरेका छन् ।

बाह्र जनाको समूहको प्रतिनिधित्व गर्दै घुघुती पुग्नुभएका भैरवबहादुर शाहीले साथीहरुसँग घुम्न, तस्वीर खिंच्न र वनभोज खाएर रमाइलो गर्ने उद्देश्यले आफू त्यहाँ गएको जानकारी दिनुभयो । यस्तैै तीन जनाको समूहमा घुघुती पुग्नुभएका सिंजा गाउँपालिका ५ का हीरहादुर रोकायाले आफ्ना साथीसँग रमाइलो गर्ने र शिक्षालयमा घुमफिर गर्न सुर्खेतबाट साथी लिएर अवलोकन गर्ने गएको बताउनुभयो । रासस

प्रतिक्रिया