जाजरकोटमा समन्वय अधिकारी नहुँदा सेवा प्रभावित

रिता घिसिंग

जाजरकोट, १६ जेठ (रासस) : जिल्ला समन्वय समितिको कार्यालय जाजरकोटमा समन्वय अधिकारीको पद रिक्त भएको दुई महीना बितेको छ । समन्वय अधिकारी नहुँदा सरकारी सेवा प्रवाहमा समस्या भएको छ । गत चैतमा तत्कालीन समन्वय अधिकारी कमलराज भण्डारी सरुवा भएर गएपछि उक्त पद रिक्त भएको हो ।


समन्वय समितिको कार्यालय दुई महीनादेखि एक खरीदारको भरमा सञ्चालन हुँदै आएको छ । कार्यालयमा समन्वय अधिकारी नहुँदा योजनाको सम्झौता तथा निर्माण, अनुगमन, अन्तरक्रिया, छलफललगायत दर्जनौँ काम अलपत्र परेको प्रमुख मनबहादुर रावलले बताउनुभयो ।

सम्बन्धित निकायमा समन्वय अधिकारी पठाइदिन पटकपटक आग्रह गर्दा पनि कसैले नसुनेको प्रमुख रावलले जानकारी दिनुभयो । यसै जिल्लाका कर्मचारीसमेत समन्वय अधिकारी बनेर आउन नमान्दा थप समस्या भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया