विप्लव समूहद्वारा सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमणको प्रयास, सेनाद्वारा हवाई गस्ती

रिता घिसिंग

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ स्थित छेस्कामा रहेको प्रहरी चौकीमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आक्रमणको प्रयास गरेपछि सो ठाउँमा सुरक्षा बढाइएको छ ।

प्रतिबन्धित सो पार्टीका लडाकुहरु प्रहरी चौकीमा आक्रमण गर्न गएको थाहा पाएपछि सेनाले हवाई गस्ती गरेको हो । प्रहरीले हेलिकोप्टरसहित गस्ती माग गरेपछि सेनाले हवाई गस्ती दिएको सेनाले पुष्टी गरेको छ । तर संकटकालमा जस्तो सेना परिचालन भने नभएको सेनाको भनाई छ ।

आइतबार राती छेस्कामा प्रहरी चौकीमा आक्रमणको हल्ला चलेपछि सानो संख्यामा रहेको प्रहरीले चौकी छाडेको थियो । युद्धको तयारीमा नरहेको र सामान्य अवस्थामा रहेको प्रहरीले चौकी खाली गरेपछि भिडन्तको घटना भने नभएको प्रहरीले जनाएको छ ।

तर ठूलो संख्यामा विप्लवका लडाकुहरु गाउँमा रहेको खबर पाएपछि प्रहरीले थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको थियो ।

सो ठाउँमा अहिले ठूलो संख्यामा प्रहरी खटाइएको छ । सुरक्षा व्यवस्था मजबुद गराइएको र प्रतिबन्धित विप्लव समूहका लडाकुहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । स्थानीयहरुका अनुसार सो गाउँपालिकामा केही दिनयता विप्लव समूहको गतिविधि बढेको छ ।

अहिले गाउँपालिका वरपर सेनाको हेलिकोप्टरले गस्ती गरिरहेको र गाउँको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू