काठमाडौँ, २० जेठ : शुक्लाफाँटा नगरपालिका–७ चुरेफेदीका बासिन्दालाई खानेपानीको अभाव हुन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा ‘हातेपम्प’ सुकेपछि स्थानीय बासिन्दालाई खानेपानीको अभाव भएको हो ।दुई महीना अघिदेखि नै हातेपम्प सुक्न थालेका भएपछि जेठ महीनाको पहिलो सातादेखि हातेपम्पबाट पानी आउन छाडेपछि स्थानीय बासिन्दाले वातावरण सामुदायिक वनले गाडेको बोरिङबाट पानी थाप्ने गरेका छन् ।
“सामुदायिक वनको बोरिङमा पनि थोरै पानी छ”, स्थानीय नरेन्द्रबहादुर धानुकले भन्नुभयो, “खानेपानी, बस्तुभाउलाई पानी खुवाउने र धानको बीउमा १७ परिवारले सोही पानीको प्रयोग गर्नु पर्दा निकै सास्ती खेप्नुपरेको छ ।” गाँउका बासिन्दाले दुई दशकअघि जमीनबाट पाँच फिट तल पम्पसेट, त्यसको १० फिट तल जमीन मुनि पङ्खा राखेर सिँचाइ र खानेपानीका लागि पम्पसेट जडान गरेका भए पनि खडेरीका कारण त्यो पनि सुकेपछि पानीका लागि टाढा जानुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो ।
घरमा पालेका बस्तुभाउलाई पानी खुवाउन र लुगा धुनका लागि विगतमा स्थानीय बासिन्दाले नजिकै स्याली नदीको पानी उपयोग गर्दै आएका थिए । जङ्गली जनावर वस्तीमा छिर्नबाट रोक्न र जैविक विविधता संरक्षणका लागि सामुदायिक वनले तारजाली लगाइ दिएपछि यस क्षेत्रका बासिन्दा नदीको पानी उपभोग गर्नबाट समेत बञ्चित भएका छन् । दुई दशकअघि जडान गरेको पम्पसेट मर्मतका लागि वडा कार्यालय र नगरपालिकासँग बजेट माग गर्दासमेत सुनवाइ हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । निजी लगानीमा हातेपम्प गाडनसमेत रु एक लाख ५० हजार बढी रकम लाग्ने भएकाले सबै परिवारले खर्च उठाउन सक्ने अवस्था छैन । रासस