भक्तपुर : पर्यटकीय क्षेत्र नगरकोटको सामुदायिक वन अतिक्रमण गरी बनेका घर÷टहरामा चाँगुनारायण नगरपालिकाले डोजर चलाएको छ । पटक–पटक सूचना जारी गर्दै भत्काउन निर्देशन दिए पनि अटेरी गरेपछि नगरपालिकाले भत्काउन थालेको मेयर सोमप्रसाद मिश्रले बताए । आइतबार नगरपालिकाले प्रशासन, प्रहरी र वन कार्यालयसँग समन्वय गर्दै डोजर लगाएर २० घर/टहरा भत्काएको हो ।
नगरपालिकाले वनको जग्गा प्रयोग गरिरहेकाहरूलाई खाली गर्न १६ वैशाखमा पत्राचार गरेको थियो । तर, स्थानीयले अटेर गर्दै आएका थिए । भक्तपुर, काभ्रे र काठमाडौंको सीमास्थित नगरकोटको कुसुम सामुदायिक वन फँडानी र अतिक्रमण गरी २०७ वटा घर/टहरा बनेको नगरपालिकाको तथ्यांक छ । ती घर÷टहरामा दुई सयवटाभन्दा बढी रेस्टुरेन्ट, होटेल, खाजाघर, किराना पसल र चिया पसल सञ्चालित छन् ।
वन क्षेत्र मासेर भक्तपुरतर्फ मात्रै एक सय नौवटा घर/टहरा बनेको तथ्यांक छ । तर, वन समूहले संकलन गरेको पछिल्लो तथ्यांकमा घर÷टहराको संख्या एक सय ६७ पुगेको कुसुम सामुदायिक वनकी अध्यक्ष ममता तामाङले बताइन् । काभ्रेतर्फ १५ वटा होटेल, रेस्टुरेन्ट र २५ वटा छाप्रा बनेको डिभिजन वन कार्यालयका प्रमुख बद्री कार्कीले बताए । कुसुम सामुदायिक वनको एक सय ४० रोपनी जग्गा अतिक्रमण भएको छ । ‘सरकारले उपभोक्तालाई दुई हजार दुई सय ४० रोपनी वन हस्तान्तरण गरेको थियो । तर, अहिले हामीसँग दुई हजार एक सय रोपनी मात्रै वन क्षेत्र बाँकी छ,’ तामाङले भनिन् । सबैभन्दा बढी कुसुम वनकै जग्गा अतिक्रमण भएको छ । काभ्रेतर्फ २४ रोपनी वन अतिक्रमण भएको कार्कीले बताए ।
तीन चरणमा भत्काइने
पहिलो चरणमा वडा नं. ६ मा पर्ने गड्गडे बसपार्क र सनसेट भ्यु–प्वाइन्ट क्षेत्रका दुईवटा पक्की दुईतले घर र १८ वटा टहरा भत्काइएको मेयर मिश्रले बताए । नगरपालिकाले स्थानीय दिलीप गुरुङ, आइते तामाङ, धन लामा, सञ्जय तामाङ, सफल तामाङ, लालबहादुर तामाङ, अमित तामाङ, राजेन्द्र नगरकोटी, अर्जुन कार्की र राजु तामाङका घर÷टहरा भत्काएको छ । मिश्रले भने, ‘बसपार्क क्षेत्रमा यही वर्षबाट बसपार्क विस्तार गर्ने काम सुरु हुन्छ, भ्यु–प्वाइन्ट क्षेत्रमा पनि वनस्पति भ्यु–पार्क बन्दै छ, बाँकी क्षेत्रका घर/टहरा पनि क्रमशः भत्काउँछौँ ।’ उनले तीन चरणमा अतिक्रमित क्षेत्रका घर/टहरा भत्काउने निर्णय भएको बताए । ‘पुरानो भ्यु–टावर क्षेत्र र भट्टेडाँडा बजारका टहरा दोस्रो चरणमा र खरिपाटीदेखि गड्गडेसम्मका अतिक्रमित घर/टहरा तेस्रो चरणमा भत्काइन्छ,’ उनले भने ।- नया पत्रिका