काठमाडौँ, २६ जेठ: सरकारले पर्यावरण संरक्षण र फलफूलमा मुलुकलाई आत्मनिर्भर बनाउन ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियान’अन्तर्गत वृक्षरोपणलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका बिरुवा रोपण गरी सो अभियान आरम्भ गर्नुभएको थियो । यस अभियानले पर्यावरण संरक्षणका साथै फलफूलमा मुलुक आत्मनिर्भरसमेत हुने उद्देश्य राखेको छ ।
सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैँची, सुन्तला, आँप, लिची, केरा, स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७३९ बिरुवा रोपण गरेको छ । यसबाहेक अन्य प्रजातिका पाँच लाख ७४ हजार १८० गरी जम्मा २८ लाख ९० हजार ९१९ बिरुवा रोपण गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यस वर्ष पनि विश्व वातावरण दिवसका दिन प्रधानमन्त्री ओलीले सिंहदरबार परिसरमा एभोकाडोको बिरुवा रोपी अभियानलाई निरन्तरता दिनुभएको छ । वृक्षरोपणलाई थप तीव्रता दिन सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
अभियानलाई तीव्रता दिन पत्राचार
अभियानको वर्षिक समीक्षा निरन्तरता, रोपिएका बिरुवाको संरक्षण तथा आगामी दिनमा चाल्नुपर्ने कदमका सम्बन्धमा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिर ढुङ्गानाको अध्यक्षतामा विभिन्न मन्त्रालय तथा निकायका पदाधिकारीको उपस्थितिमा गत वैशाख १७ गते बसेको बैठकले १५ बुँदे निर्णय गर्दै सबै सरकारी मन्त्रालय तथा निकायमा पत्राचार गरिसकिएको छ ।
परिपत्रअनुसार अभियानलाई निरन्तरता दिनुका साथै रोपण गरिएका बिरुवाको संरक्षणका लागि गृह मन्त्रालयमार्फत सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने गरिएको छ । त्यस्तै अभियानलाई नागरिकस्तरसम्म पु¥याइ कृषकलाई निजी जमीनमा समेत मौसम एवं भौगोलिक अनुकूलताअनुसारका बिरुवा व्यावसायिकरुपमा रोपण गर्न अभिप्रेरित गर्ने कार्यको नेतृत्वदायी भूमिका स्थानीय तहले गर्ने व्यवस्थाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गरिएको छ ।
नेपालको संविधानले स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा उल्लेख गरेको छ । वातावरणप्रति चिन्तित रहन र यसलाई सुधार्न वातावरण संरक्षण र मानवजातिको हितका लागि विश्वलाई नै आह्वान गर्ने उद्देश्यले सरकारले यस वर्ष सगरमाथा संवादको आयोजना गर्दैछ । यस संवादमार्फत संसारभर जलवायु परिवर्तन र यसका दुष्प्रभावका बारेमा सार्थक बहस शुरु गरिने सरकारको अपेक्षा छ ।
नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका बिरुवा
सरकारले कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका बिरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमीनमा फलफूलमा बिरुवा रोपण गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिको कार्यान्वयन गर्ने सिलसिलामा अभियानलाई निरन्तरता दिँदै नागरिकस्तरसम्म पु¥याउन सरकारले राष्ट्रव्यापीरुपमा सरकारका सबै निकाय, स्थानीय तह, गैरसरकारी संस्था एवं नागरिकमा अनुरोध गरिसकेको प्रवक्ता कुँवरले बताउनुभयो ।
यस वर्ष नेपालमा ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस साताव्यापी कार्यक्रम गरी मनाइएको छ । नेपालको कूल जमीनको करीब ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ । दिवसका अवसरमा यही जेठ २२ र २३ गते नेपालगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राष्ट्रियस्तरको कार्यक्रम, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा काठमाडौँमा बृहत् अन्तक्र्रिया कार्यक्रम, साइकल ¥यालीलगायत कार्यक्रम गरिएको छ ।
यसबाहेक प्रदेश, स्थानीय तह, गैरसरकारी तह सामुदायिक सङ्घ संस्थालगायत पनि आफ्नै तरिकाले विभिन्न कार्यक्रम र वृक्षरोपण गरी दिवस मनाएका छन् । दिवसको साताव्यापी कार्यक्रमअन्तर्गत आज वन तथा वातावरण मन्त्रालयकै अग्रसरतामा सङ्घीय मन्त्रीहरुद्वारा मन्त्री निवासमा सरसफाइ, काठमाडौँमा सवारीसाधनको प्रदूषण जाँच गरिएको छ भने जेठ २८ गते समापन कार्यक्रम गरिने मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालले जानकारी दिनुभयो । सरकारले यस वर्षदेखि आफ्नै पहलमा विभिन्न हिमालसहित सगरमाथा सरसफाइ अभियानसमेत अघि बढाएको छ । रासस