‘थारु समुदायको अधिकारका लागि सङ्घर्ष’ :मुख्यमन्त्री राउत

admin

धनुषा, २७ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौँदेखि विभेदमा परेको थारु समुदायलाई अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको बताउनुभएको छ । थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुक सङ्घीय गणतन्त्रमा गए पनि कार्यान्वयन पक्ष इमान्दार नभएकाले सङ्घर्ष अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

सङ्घर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नुहुँदै मुख्यमन्त्री राउतले आफ्नो भविष्य परिवर्तनका लागि थारुमा लड्ने साहस जुटाउन आग्रह गर्नुभयो । उहाँले आयोग गठनमा समेत विभेद भएको उल्लेख गर्दै महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी र मुश्लिम जस्ता आयोगलाई नदिइएको बताउनुभयो ।

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने भन्दै उहाँले आयोगलाई बल पु¥याउनसमेत थारु समुदायलाई सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले सबै जातजातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरिरहेकाले सबै निकायमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया