गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

admin

काठमाडौं, २८ जेठ: सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ । विधेयकलाई स्थगन सबै एकजुट भएर अघि बढ्नुपर्दछ’ सोमबार राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रा.डा केदारभक्त माथेमाले भन्नुभयो ।विधेयकमा गुठीको जग्गा भूमाफिया, बिचौलियाले सहजै हडप्न सक्ने प्रावधान राखेको भन्दै विरोधमा सोमबार राजधानीमा मसाल जुलस निस्किएको छ । प्रदर्शनकारीमाथि आइतबार भएको दमनको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा विरोध जनाएको छ ।

राजधानीको इन्द्रचोकमा सोमबार कोणसभापछि मसाल जुलस निस्किएको थियो । सो मसाल जुलसमा विभिन्न गुठियार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।लिच्छविकालदेखि धर्म, संस्कृति र अन्य परोपकारको काम गुठीमार्फत सञ्चालन हुँदै आएको छ । करिब १५ सय वर्ष पुरानो गुठी परम्परा समाज सञ्चालनको एउटा संरचना हो । गुठी जग्गालाई मास्ने भूमाफियाको चलखेललाई सरकारले विधेयकमार्फत् वैधानिकता दिन खोजेको सरोकारवालाहरु बताउँछन् ।

सो विधेयकले देशभरका गुठीको एकीकृत विकास, सञ्चालन, व्यवस्थापन र प्रशासनका लागि राष्ट्रिय गुठी प्राधिकरणको परिकल्पना गरेको छ । यस्तो प्राधिकरणले गुठीका चल–अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र आवश्यकताअनुसार बेचबिखन गर्न सक्छ । ‘यो ऐन लागू भएसँगै गुठीको सम्पूर्ण हक, दायित्व प्राधिकरणमा सर्ने छ । गुठीको जिम्मा गुठीयारको हातबाट खोसिएर प्राधिकरणमार्फत कर्मचारीमा जानेछ’ गुठी संस्थानका पूर्व अध्यक्ष एवं प्रशासक पञ्चलाल महर्जनले राजधानीमा आयोजित सभामा भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू