खोटाङ, ३२ जेठ: प्रकृति तथा भूमि पूजक किरात समुदायको महान् चाड साकेला (उभौली) समापन गरिएको छ । किरात राईहरुको घनाबस्ती रहेको माझकिरात खोटाङमा आज बृहत् साकेला सिली प्रदर्शन गर्दै महीना दिनसम्म मनाइने साकेला उभौली विधिवत्रूपमा समापन गरिएको हो । वर्षमा दुईपटक मनाइने यो चाडअन्तर्गत उभौलीमा ‘खेतीपाती सप्रियोस, रोगव्याधि नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै पितृ तथा भूमिको पूजा गरेर ढोल र झ्याम्टाको तालमा धुमधामका साथ साकेला सिली प्रदर्शन गर्ने प्रचलन छ । नजिकका भूमेथान, ऐतिहासिक गढी तथा किरात संस्कार संस्कृतिसँग सम्बन्धित ऐतिहासिक स्थलमा केटाकेटी, युवायुवती, वृद्घवृद्घालगायत मौलिक वेषभूषामा एकजुट भएर गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।
दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सबै समुदायको अतिथिले एकैसाथ साकेला नाचेर उद्घाटन गरिएको समापन कार्यक्रममा दिक्तेल, लफ्याङ, बाम्राङ, खाल्ले, नेर्पा, दोर्पा, हलेसी, रतन्छा, बाँझेच्यानडाँडा, याम्खा, अर्खौले, खार्मीलगायतका टोलीले आआफ्नो ठाउँमा नाचिने साकेला सिली प्रदर्शन गरेका थिए । किरात राई यायोख्खा खोटाङ र किरात सेवा समाज खोटाङले संयुक्तरूपमा आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रममा मछामा, चावा, आम्लामी, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लातीलगायतका लोपोन्मुख सिली प्रदर्शन गरिएको थियो ।
छितको गुन्यू मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाकाटोपी किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाउने गरिएको यो चाडमा किरात मात्र नभएर गैरकिरातसमेत सामेल हुने गर्दछन् । साकेला उभौली चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव तथा आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने आयोजक किरात राई यायोख्खा खोटाङका सचिव युगशन किरातले बताउनुभयो ।
अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उभौली र अन्नबाली भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली पर्व मनाउने चलन छ । चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र सुख दुःखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।बूढापाकाको अन्त्यसँगै लोप हुँदै गएको किरात समुदायको मौलिक सिली संरक्षणमा सबैको ध्यानाकर्षण गराउन बृहत कार्यक्रमको आयोजना गरिएको यायोक्खाका जिल्ला अध्यक्ष हात्तिराम राईले बताउनुभयो । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”
बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा गोलो घेरा बनाएर नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावनासमेत प्रदर्शन गर्दछ । दुवै हात र दुवै खुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाँच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य गर्दा गरिने क्रियाकलाप प्रदर्शन गरिन्छ ।
साकेला पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गर्छन् । वर्षमा दुई पटक मनाइने साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य अर्थात् महान् चाडका रुपमा मनाउने गरेका छन् ।
साकेला उभौलीको शुरुआती दिन अर्थात् गत जेठ ४ गते मझुवागढीबाट शुरु भएको साकेला सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान कार्यक्रम आज औपचारिकरुपमा समापन गरिएको आयोजकले जनाएको छ । समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । रासस