काठमाडौँ : गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई सर्वाेपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ, जनताको हितमा काम गर्छ, कहीँकतै कमीकमजोरी देखियो भने त्यसलाई सच्याउने छ ।” कतिपय ठाउँमा गुठीका नाममा जनता र गरीबमाथि शोषण भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ ।
आबेग, उत्तेजना, द्वन्द्व, आन्दोलन गर्ने नभई नेपालको अबको समय भनेको संवाद, सहमति, सहकार्य र अग्रगमन भएको बताउँदै प्रधानमन्त्री ओलीले विरोधको भावनालाई उचालेर कहाँ पुग्छु भन्ने भावना नराख्न सबैलाई सुझाव दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको युरोप भ्रमणका क्रममा भएका गतिविधि र उपलब्धिबारे जानकारी दिनुभयो ।रासस