रुपन्देही, १२ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिक नेतृत्वको सक्रियताले समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि सूचक तय भएको बताउनुभएको छ । मदन भण्डारी जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीले आज बुटवलमा आयोजना गरेको समाजवादउन्मुख अर्थतन्त्र विषयको प्रदेशस्तरीय विचार गोष्ठीमा उहाँले भन्नुभयो, “समाजवाद आकाशबाट झर्ने चिज होइन । यो हामीले गर्ने काममा भर पर्छ ।”
अन्य देशमा क्रान्तिका माध्यमबाटै समाजवाद निर्माण भएको बताउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “बुर्जुवा शक्तिलाई निषेधित नगरी राजनीतिक क्रान्तिका माध्यमबाट जनताको बहुदलीय जनवाद स्थापित गर्ने विचार मदन भण्डारीको हो । यो कुरालाई अहिलेको पार्टीले स्वीकारेको छ ।” “हामी पूँजीको विकास गर्न चाहान्छौँ तर स्वछन्दरुपमा पूँजीको विकास हुन दिदैनौँ”, पोखरेलले भन्नुभयो, “पूँजीलाई छुट पनि दिने नियन्त्रण पनि गर्ने हो । सरकारको तीन खम्बे सहकारी नीति यसैका लागि हो । ”
उहाँले पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने नेकपाको मान्यता रहेकाले विपक्षी पार्टी काङ्ग्रेससँग अन्तरविरोध हुने गरेको धारणा राख्नुभयो । “व्यस्थापकीय कमजोरीले थला परेका उद्योग काङ्ग्रेसले निजीकरण ग¥यो तर नेकपाको नीतिअनुसार थला परेको उदयुपर सिमेन्ट, टेलिकम, सरकारी बैंकले अहिले नाफा दिन थाले”, उहाँले भन्नुभयो, “उत्पादनशील क्षेत्रमा राज्यको सामथ्र्य जोगाउने काम नेकपाको नीतिले गरेको छ ।”
नेकपाका जिल्ला अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नेकपाले मुलुकको समृद्धि र सुदृढीकरणको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई उपलब्धिमा बदल्ने बताउनुभयो । नेकपाका प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, नेकपा नेता बलबहादुर आचार्य, धु्रव आचार्य, फाउण्डेशनका प्रदेश अध्यक्ष सूर्य ढकाललगायतले सरकारले गरेका राम्रा कामको प्रचार नगर्ने तर साना कमजोरीलाई लिएर प्रचारबाजी गर्ने काम भइरहेकाले त्यसप्रति सचेत हुन नेतृत्वलाई आग्रह गर्नुभयो । रासस