पिएनपिखबर : नेपाल विद्युत प्राधिकरणको चरम लापारवाहीका कारण दोलखामा एक महिलाको ज्यान गएको छ। भीमेश्वर नगरपालिका–५ बिरुवाकी ४१ वर्षिया दुर्गा बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो।
उनी बुधबार बिहान घर नजिकै स्थानीयको धान रोप्न मेला गएकी थिइन। खेतमा काम गरिरहेकी उनी खेतालालाई पानी खुवाउनको लागि साढे ११ बजे पानी लिन जानेक्रममा विद्युत् प्राधिकरणको पोललाई सपोर्ट दिइएको तारमा छुँदा करेन्ट लागेर घटनास्थल मै मृत्यु भएको भीमेश्वर नगरपालिका–५ का वडा अध्यक्ष राम चन्द्र बस्नेतले बताए।
उनी भन्छन, ‘दिउँसो ११: ४५ मिनेटको समयमा पोललाई थेग्न अड्याइएको विजुली बगेको नाङ्गो तारमा छुँदा ती महिलाको मृत्यु भयो। स्थानीय पुग्दा तारले उनलाई झुण्डाएको अवस्थामा देखे। स्थानीयले तुरुन्तै विजुली अफ गरे पछि मात्रै शव भुईमा खसेको थियो।’
उनले अघि भने, ‘विद्युत प्राधिकरणको लापार्वाहीको कारण उनको ज्यान गयो। हामीले पटक-पटक खम्बा सार्नको लागि पहल गर्दा समेत् विभिन्न समस्या देखाएर विद्युत प्राधिकरणले टार्दै आएको छ।’
विद्युत् प्राधिकरणका जोखिमयुक्त पोलहरु धेरै भए पनि प्राधिकरणले चाँसो नदिंदा स्थानीयले ज्यान गुमाउन बाध्य छन् ।