सी र ट्रम्पबीच चीन–अमेरिका व्यापार परामर्श शुरू गर्न सहमत

राष्ट्रिय समाचार समिति

ओसाका, जापान, १४ असार : चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच शनिबार जापानमा भएको भेटवार्तामा आपसी सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा पुनः परामर्श जारी गर्ने सहमति भएको छ । दुई नेताबीच भएको परामर्शमा अमेरिकी पक्षले यस पहिले चर्चामा रहेको चिनियाँ सामानमा नयाँ कर वृद्धिको बिषयलाई तत्कालका लागि स्थगित गर्ने र दुई मुलुकका आर्थिक तथा व्यापार वार्ता टोलीले खासगरी यस पहिलेका ११ चरणमा भएका प्रयासमा सहमति निर्माण गर्न नसकिएका विशेष मुद्दाहरूमा केन्द्रित भएर पुनः छलफल गर्ने सहमति भएको छ ।

चिनियाँ राष्ट्रपति सी र ट्रम्पले जी–ट्वन्टी सम्मेलनको सन्दर्भमा विश्वका मुख्य अर्थतन्त्र भएका विभिन्न १९ मुलुक र यूरोपेली यूनियनका उच्च नेताहरूबीच पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरूले चीन र अमेरिकाबीचको पछिल्लो विकसित सम्वन्ध,व्यापार विवाद साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे पनि जानकारी गराउनुभएको थियो ।

उहाँहरूले आगामी दिनमा दुईपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ दिशा तय गर्ने र सहकार्य, समन्वय र स्थायित्वका साथ अघि बढ्ने कुरामा समेत छलफल गर्नुभएको बताइएको छ । चीन व्यापार विवादबारे देखिएका असमझदारीलाई छलफल गर्न तयार रहेको तर यसो गर्दा दुई देशबीच समानता र आपसी सम्मानमा आधारित भएर विचारविमर्श हुनुपर्ने र एकअर्काका वैधानिक चासोलाई सम्बोधन गनुपर्र्ने भेटमा चिनियाँ राष्ट्रपति सी ले बताउनुभयो ।

चीनको सार्वभौमिकता र सम्मानका बिषयमा चीनले आफ्ना मुलभूत चासोलाई सुरक्षा गर्ने पनि राष्ट्रपति सीले बताउनुभयो । विश्वका दुई ठूला अर्थतन्त्रले सम्भव हुनेसम्म विचारविमर्श र वार्ताबाट आपसीरूपमा स्वीकार हुने समाधान निकाल्नुको विकल्प नरहेको पनि राष्ट्रपति सीले उक्त अवसरमा बताउनुभयो ।चीन र अमेरिकाबीच अधिकांश मुद्दामा अविभाज्य चासो र सहकार्यमासमेत व्यापकता रहको र तथाकथित विवाद र द्वन्द्वमा फस्नु नहुने पनि चिनियाँ राष्ट्रपतिको भनाइ थियो । उहाँले संयुक्त राज्य अमेरिकालाई चिनियाँ उद्यमी तथा विद्याथीहरूलाई न्यायसङ्गत रूपले व्यवहार गर्न र जनता जनताबीच समन्वयकारी भूमिकाको आदानप्रदान हुने वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिकी बन्दरगाहहरूमा चीनलाई आवेगका भरमा व्यवहार नगरिएको र अमेरिका सधैँ चीनसँग द्विपक्षीय सम्बन्ध बिस्तार गरेर अघि बढ्न चाहेको बताउनुभयो ।अमेरिकाले चीन–अमेरिकाबीच व्यापारमा देखिएको असन्तुलनलाई सही तरिकाले समाधान गर्न दुई मुलुकबीच छलफल र वार्ताबाट अघि बढ्न सकिनेतर्फ ट्रम्पले जोड दिनुभयो । दुवैतर्फका उद्यमीलाई न्यायोचितरूपमा व्यवहार हुनुपर्ने, अमेरिकी सामानको आयातलाई चीनले बढाउनेतर्फ पनि सोच्ने विश्वास ट्रम्पले व्यक्त गर्नुभयो । रासस÷सिन्ह्वा

प्रतिक्रिया