स्याङ्जा, १४ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले जननेता मदन भण्डारीको विचारले कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याएको बताउनुभएको छ । विचार र दर्शनको क्षेत्रमा भण्डारी एक मात्र बृहस्पति भएको बताउनुहुँदै मुख्यमन्त्री गुरुङले नेकपाले भण्डारीको विचारलाई सही सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रिय वृक्षरोपण दिवस २०७६ तथा ६७आँै मदन जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले पुतलीबजार नगरपालिका–१४ स्थित मदन–आश्रित उद्यानमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा गुरुङले सो कुरा बताउनुभएको हो ।
विसर्जनवाद, जडसूत्रवादी र संशोधनवादका कारण कम्युनिष्टहरु पछाडि परेको अवस्थामा मदन भण्डारीले जोगाएको बताउँदै मुख्यमन्त्री गुरुङले कम्युनिष्टहरु प्रतिस्पर्धा र जनताको अभिमतबाट अगाडि आउन सक्छन् भन्ने कुरा नेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाट पुष्टि भएको चर्चा गर्नुभयो । विपक्षीले पार्टी एकताका विरुद्धमा विभिन्न अनर्गल हल्ला फैलाएर जनतालाई भ्रमित पार्ने काम गरेको बताउँदै उहाँले पार्टी एकताको समयमा भएका सहमति कार्यान्वयन हुने बताउनुभयो ।
सामाजिक, आर्थिक रुपान्तरणमा पार्टी नलागेमा पार्टी खोपाको भीमसेन हुने बताउँदै उहाँले पार्टीको सङ्गठन निर्माणमा जुट्न पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । वृक्षरोपण कार्यक्रममा ३५ रोपनी क्षेत्रफलमा फैलिएको मदन उद्यान मा कपुर, अमला र तेजपत्ता गरी ३०० बिरुवा रोपिएका थिए । त्यसैगरी नेकपा वालिङ नगर कमिटीको आयोजनामा वालिङ नगरपालिका–६ स्थित थामडाँडामा पनि विभिन्न जातका बिरुवा रोपिएको नेकपाले जनाएको छ ।रासस