मदनभण्डारी स्मृति बाटिकामा राष्ट्रपति

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १४ असार : जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित मदन भण्डारी स्मृति बाटिकामा स्थापना गरिएको उहाँको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले उहाँको सम्झनामा दीप प्रज्ज्वलनसमेत गर्नुभयो ।

राष्ट्रपति भएपछि उहाँ पहिलोपटक बाटिकाको स्थलगत अवलोकन भ्रमणका लागि पुग्नुभएको हो । यसअघि उहाँ सांसद हुँदा विसं २०५२ जेठ ४ गते उक्त स्थलमा पुगेर वृक्षरोपण गर्नुभएको थियो । त्यसपछि उहाँ आज उपस्थित हुनुभएको हो ।मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिको आयोजना तथा सामुदायिक विकास समिति एकीकृत उपभोक्ता सङ्घ र सामुदायिक विकास समितिको सहयोगमा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महान्यायाधिवक्ता अग्नी खरेल र काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यकोसमेत सहभागिता थियो ।

साँझ ७ः३० बजे कोटेश्वरस्थित मदनभण्डारी स्मृति बाटिकामा पुग्नुभएका राष्ट्रपति भण्डारीले झण्डै आधा घण्टा यहाँ बिताउनुभयो । उहाँलाई स्थानीयले भव्य स्वागत गरेका थिए । राष्ट्रपतिको प्रतीक्षामा साँझ ५ बजेदेखि नै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रपतिले दिप प्रज्ज्वलन गरी भण्डारीको शालिकमा माल्यार्पण गर्ने क्रममा स्थानीय समुदायले सामूहिक स्वरमा ‘ह्याप्पी बर्थ डे टु यु’ भनेर जननेता भण्डारीको जन्मजयन्ती मनाएका थिए । सो क्रममा राष्ट्रपति भण्डारीले उपस्थित समुदायलाई हात हल्लाएर अभिवादन गर्नुभएका थियो । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा उहाँले आजै बाटिका परिसरमा बिरुवासमेत रोप्नुभएको थियो ।

मदन भण्डारीले विसं २०४८ मा सोही क्षेत्रबाट चुनाव जित्नुभएको थियो । उहाँको स्मृतिमा यहाँ बाटिका निर्माण गरिएको छ । विसं २००९ असार १४ गते ताप्लेजुङ्को ढुङ्गेसाँघुमा जन्मनुभएका जननेता भण्डारी ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुनुभएको थियो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा उहाँको निधन भएको थियो । त्यसपछिको निर्वाचनमा सोही क्षेत्रबाट राष्ट्रपति भण्डारीले तत्कालीन चुनाव जित्नुभएको थियो । रासस

प्रतिक्रिया