‘खेल विश्वविद्यालय आवश्यक’: नेता भट्ट

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १५ असार: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता लेखराज भट्टले खेल क्षेत्रको विकासका लागि छुट्टै खेल विश्वविद्यालयको आवश्यकता औँल्याउनुभएको छ । यही असार १८ देखि २९ गतेसम्म इटालीको नापोलीमा हुने ३०औँ विश्वविद्यालयस्तरीय अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी हुने टोलीको बिदाई कार्यक्रममा उहाँले खेल क्षेत्रको विकासका लागि विशेष कक्षाको आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रतिभावान खेलाडी भन्दा आफ्ना नजिककालाई मात्र खेल क्षेत्रमा छनोट गर्ने प्रवृतिले खेल क्षेत्रले उल्लेख्य सफलता लिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले खेलकूदका लागि स्रोत खोज्ने चलनले पनि खेल क्षेत्रको विकास हुन नसकेको बताउनुभयो ।

विश्वविद्यालय खेलकूद सङ्घद्धारा आयोजित कार्यक्रममा फेन्सिङ खेलाडी ओमकार सिंह, एलिसा अधिकारी र अनिता कार्की तथा तेकवान्दोतर्फ सक्षम कार्की, नम्रता तुलाधर, पार्वती गुरुङ, अस्मिता खड्का र उमेशराज भण्डारीलाई पूर्वमन्त्री तथा सांसदसमेत रहनुभएका भट्ट, राखेपका सदस्य एकिन्द्र कुँवर, सङ्घका अध्यक्ष प्रदीप जोशी लगायतले बिदाइ गर्नुभएको थियो । रासस

प्रतिक्रिया