वैदेशिक रोजगारीमा ठग्ने महिला जेल चलान

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १५ असार : वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छिन् । वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ साल असार २६ को फैसलाले एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पाको खानीगाउँ निवासी टीकाकुमारी थापा आज जेल चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइवी)ले जनाएको छ ।



उनलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले आजै जेल चलान गरिएको हो । कैद भुक्तानका लागि उनलाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

उहाँले २०६९ सालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने ईजाजतपत्र बिना नै वैदेशिक रोजगारका लागि साइप्रस पठाईदिने भन्दै रकम ठगी गरेकी थिइन् । अदालतले थापालाई दोषी ठहर गर्दै उक्त सजायसहित जाहेरवालालाई बिगो र हर्जनासमेत गरी कूल रकम रु १४ लाख २५ हजार तिर्नुपर्ने फैसला गरेको थियो ।रासस

प्रतिक्रिया