चितवनमा दुई दशमलव पाँच प्रतिशत रोपाइँ

राष्ट्रिय समाचार समिति

चितवन, १५ असार: वर्षा नहुँदा मध्य असारसम्म जिल्लामा दुई दशमलव पाँच प्रतिशत मात्र खेत रोपाइँ भएको छ । देशैभरी किसानले दही चिउरा खाएर रमाइरहँदा यहाँका किसान भने आकाशतिर हेरेर पानीको पर्खाइमा दिन बिताइरहेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेलकाअनुसार शुक्रबारसम्म दुई दशमलव पाँच प्रतिशत मात्र खेत रोपाइँ भएको छ । मनसुन सक्रिय नभएका कारण किसानले रोप्न नपाएको पौडेलले जानकारी दिनुभयो । गतवर्ष यतिबेला १५ प्रतिशत खेत रोपाइँ भएको थियो । खेतको बीउ डढ्दै गर्दासमेत पानी नपरेपछि उत्पादन घट्ने डरमा किसान रहेका छन् ।

जिल्लामा २८ हजार ६०० हेक्टर वर्षे र ५०० हेक्टर चैते धान रोप्ने गरिएको केन्द्रले जनाएको छ । वर्षे धानको तीन दशमलव चार मेट्रिक टन र चैते धानको चार दशमलव दुई मेट्रिक टन उत्पादकत्व रहेको छ । यसैबीच कृषि ज्ञान केन्द्र र भरतपुर महानगरपालिकाको सहयोगमा पश्चिम चितवनको दिव्यनगरमा आज १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ । स्थानीय वृहस्पती धानबाली पकेट सञ्चालक समितिले कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा चितवन क्षेत्र नं– २ का सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले एकीकृत खेती प्रणाली अपनाएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले प्रदेश सरकारले सिन्धुलीको दूधौली र चितवनको माडीमा चक्लाबन्दी खेती प्रणाली शुरु गरेको भन्दै सबैले आधुनिकखेती प्रणालीतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा स्थानीयवासीको १६ बिघा जमीनमा आधुनिक उपकरणबाट रोपाइँ गरेर धान दिवस मनाइएको थियो । रासस

प्रतिक्रिया