पोखरा : परिक्षामा सहज हुन्छ भन्दै पोखरा घुमाउन लगेका एक शिक्षकले विद्यार्थी बलात्कारमाथि गरेका छन् । उदयपुरको म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक राकेश कुमार कानोडियाले १४ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।
८ दिनदेखि पोखराको द कन्ट्री यार्ड होटलमा बन्धक बनाएर उनले बलात्कार गरेको पोखराका प्रहरी प्रशासनको भनाई छ।
अनुसन्धानमा मोरङ बिराटनगर घर भएका शिक्षक कानोडियाले मोबाईल खोसेको र परिवारसँग पनि सम्पर्क हुन नदिई बन्धक बनाएको पाइएको छ । बालिका हराएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। खोजतलासका क्रममा कास्की प्रहरीले उनलाई मंगलबार पोखरामा फेला पारेको हो ।
उदयपुर चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय शिक्षकले यतिबेला पोखरा भ्रमण गरेपछि परीक्षामा पनि सहज हुने र शैक्षिक भ्रमणमा पनि जानु नपर्ने भन्दै लगेका थिए। बालिकालाई बुधबार परिवारको जिम्मा लगाइएको र बलात्कार गर्ने शिक्षकलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।