हजार घरधुरीमा बिजुली विस्तार

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० साउन: तनहुँ जिल्लास्थित विभिन्न ठाउँका एक हजार घरधुरीमा बिजुली विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष ०७५÷७६ मा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–६ को ज्यामिरे छापस्वारा, ढेडगाउँको ११०, बन्दीपुर ग्याजाटारको ११५, साराङघाटको ११०, रिसिङ गाउँपालिका–३ नाजुङको १२०, दुभुङको १२०, खाल्टुभञ्ज्याङको १३०, रिसिङ गाउँपालिका–२ गुम्लेकको ६० र व्यास नगरपालिका–१३ सुढेपुलको १५ घरधुरीमा बिजुली विस्तार गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । 

 

उक्त अवधिमा ७६.७ किमि विद्युत् प्रसारणलाइन विस्तार भएको छ । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमिलाइन विस्तार गरिएको छ । गोशलीका अनुसार बिजुली विस्तारका लागि रु तीन करोड बजेट खर्च भएको छ ।  उक्त अवधिमा एक हजार घरधुरीमा बिजुली विस्तार भएपछि जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । बाँकी १५ प्रतिशत घरधुरीमा अबको डेढ वर्षभित्र बिजुली विस्तार गर्ने योजना रहेको गोशलीले बताउनुभयो । गोशलीका अनुसार देवघाट, रिसिङ, बन्दीपुर र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुग्न सकेको छैन ।

 

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्मलाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइनेछ ।  

 

त्यसैगरि बुद्धसिं फिडरमार्फत् आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायत बुद्धसिं मार्ग छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिनुभयो ।  कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको छ । म्याग्देको मुलावारी, ओटाङ्दी, व्यासको सुँढे, बागभञ्ज्याङ, सितलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप भएको छ ।

 

दुई हजार १०७ ग्राहक थपिए

वितरण केन्द्रमा आर्थिक वर्ष ०७५÷७६ मा दुई हजार १०७ नयाँ ग्राहक थपिएका छन् । थपिएका ग्राहकमध्ये एक हजार घरधुरी बिजुली विस्तार भएका घरधुरी हुन् । बाँकी भने बजार क्षेत्रमा नयाँ घर बनेर विद्युतीकरण भएका घरधुरी हुनु् । वितरण केन्द्रमा हाल ३६ हजार २२३ ग्राहक छन् । गत आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा ३४ हजार ११६ ग्राहक थिए ।

 

केन्द्रले तीन करोड ६१ लाख १९ हजार ३४२ युनिट विद्युत् बिक्री गरेर रु ३८ करोड ४४ लाख १० हजार ९३१ रकम सङ्कलन गरेको छ । गत वर्ष केन्द्रले तीन करोड ४१ लाख ९५ हजार २०६ युनिट विद्युत् बिक्री गरेर रु ३३ करोड २९ लाख ८१ हजार ८८८ सङ्कलन गरेको थियो । कार्यालयले सोही अवधिमा बक्यौताबापत रु एक करोड ४२ लाख ७४ हजार २८६ असुली गरेको छ । त्यस्तै ९३१ ग्राहकको लाइन काटेर उक्त बक्यौता असूल गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा ३३७ ग्राहकको लाइन काटेर रु ६१ लाख ७५ हजार ७५३ असूली भएको थियो । सोही अवधिमा १२५ ग्राहकलाई विद्युत् चोरी गरेबापत कारवाही गर्दा रु ६ लाख ६ हजार ६५ सङ्कलन भएको केन्द्रले जनाएको छ । 

 

गत आर्थिक वर्षमा २५ जनालाई कारवाही गर्दा रु एक लाख ४५ हजार ४७२ सङ्कलन भएको थियो । 

 

प्रतिक्रिया