तीस महीनामा ४५ प्रतिशत सडक निर्माण

राष्ट्रिय समाचार समिति

चितवन, १२ साउन : पन्ध्र महीनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको यहाँको बाइपास सडक ३० महीनामासम्म बनेको छैन । अढाइ किलोमिटर लामो उक्त सडकको हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्मको उक्त सडक क्षेत्रमा जिल्ला प्रशासनसहित अधिकांश सरकारी कार्यालय छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनीयर गीताञ्जली कोइरालाका अनुसार २०७३ को पुस २५ गते गौरीपार्वती निर्माण सेवाले रु १२ करोड ८२ लाख ८१ हजारमा सडक विस्तारको बोलपत्र सकार गरेको थियो । पटक–पटक समय थप गरिँर्दै आएको सडक निर्मणको गत असारमा अन्तिम म्याद सकिएको थियो । “म्याद थपको प्रक्रिया शुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

सडक विस्तारपछि दुबैतर्फ सात÷सात मिटर कालोपत्र सडक, बीचमा डेढमिटरको डिभाइडर तथा छेउ–छेउमा दुबैतर्फ चार÷चार मिटर ग्राभेल सडक निर्माण गरिनेछ । विद्युत् र टेलिफोनको खम्बा सार्ने, सडकमा रहेका रुख काट्ने तथा खानेपानी र ढलका पाइपको काम सक्न गर्न ढिला भएका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको कोइरालाको भनाइ छ । आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्मको सडकको लम्बाइ दुई दशमलव पाँच किलोमिटर छ ।

नारायणगढको पुलचोकहुँदै आँपटारीसम्मको सडक विस्तार गर्न बजारका कारण असम्भव भएपछि दुई राजमार्गलाई जोड्ने गरी भरतपुर बसपार्कदेखि आँपटारीसम्म सडक फराकिलो बनाउन लागिएको हो । सो सडकअन्तर्गत विद्युत्का तीन सय, टेलिकमका ८८ खम्बा र ९६ रूख काट्नपुर्ने थियो ।

“विद्युत् र टेलिकमका खम्बा सार्न ढिला भएकाले डेढवर्ष म्याद थप गरिएको थियो”, कोइरालाले भन्नुभयो । फेरि खम्बा र रुख काट्न म्याद थप गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सडक कार्यालयले बोलपत्रका समयमा खम्बा सार्न र रुख काट्नका लागि बजेट विनियोजन नगर्दा समस्या भएको बताउनुभयो । “छलफल गरी अफ्ठ्यारो फुकाउँदै गएकाले काममा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया