नौ हजार सवारीसाधन कारवाहीमा

admin

बागलुङ, १३ साउन : गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन्् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५÷०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४÷०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए ।

नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, मोटरसाइकल दुई हजार ६५४ र अन्य ४० गरी नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका हुन् । कागजात नभएका, बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवनजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय दुर्घटना हुने क्रम पनि बढ्दो छ । विशेष गरी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेका छन् । गएको आवमा २५ सवारी दुर्घटनामा परेको प्रहरीको आँकडाले देखाएको छ । दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएको र २९ जना घाइते भएका छन् । “ट्राफिक नियम पालनामा कडाइ गरिरहेका छौँ”, प्रनानि रानाभाटले भन्नुभयो, “नियमित चेकजाँचसँगै समुदायस्तरमा ट्राफिक सचेतना जगाउने काम भइरहेको छ ।”

बढ्दो शहरीकरणसँगै सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसैबीच, प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आइतबार जिल्लाका सरोकार भएका पक्षबीच सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा अन्तरक्रिया गरेको छ । ट्राफिक नियम पालनामा सबै पक्षबाट सहयोग र समन्वयको प्रतिबद्धता आएको छ ।रासस

प्रतिक्रिया