डिएपी मल वितरण शुरु

राष्ट्रिय समाचार समिति

लहान, १४ साउन : सिरहाको लहानस्थित साल्ट ट्रेडिङ कर्पाेरेशनले आजदेखि डिएपी मल वितरण शुरु गरेको छ । मलखादको प्रमुख बिक्रेता कृषि सामग्री कम्पनी कार्यालय लहानमा डिएपी मल आभाव रहेका बेला साल्ट ट्रेडिङले मल वितरण शुरु गरेको हो ।

सिरहामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत रासायनिक मलखाद बिक्री वितरण गर्ने गरेका छन् । केन्द्रबाट जम्मा ३४ टन मात्र डिएपी मल आयात गरिएको छ । साल्ट ट्रेडिङ लहानका प्रमुख जीतेन्द्र साहका अनुसार धान रोपाइँको बेला डिएपी मलको माग अत्यधिक छ । धान रोपाइँमा व्यस्त रहेका किसान कृषि सामग्री कम्पनीमा डिएपी मल नआउँदा समस्यामा छन् ।

लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिनुभयो । सिरहामा ३० हजार बोरा डिएपी मल चाहिएकामा हाल कृषि सामग्री कम्पनीको गोदाम रित्तो छ । युरिया भने पर्याप्त रहेको चौलागाईंको भनाइ छ । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भए पनि मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा धाउने गरे पनि मल नपाएपछि निराश भएर किसान फर्कने गरेका छन् । मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानलाई चिन्ता छ । रासस

प्रतिक्रिया