एक सय ४५ महिला र बालबालिका हराए

राष्ट्रिय समाचार समिति

मार्तडी, १४ साउन: बाजुरामा महिला तथा बालबालिका हराउने क्रम वर्षेनी बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएका आधारमा प्रत्येक वर्ष महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तिन आर्थिक वर्षमा १४५ महिला तथा बालबालिका हराएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकराज ढुङ्गानाले जानकारी दिनुभएको छ ।

सांकेतिक तस्वीर

उहाँले दिएको जानकारीअनुसार आव ०७३÷०७४ मा महिला र बालबालिका गरी ६१ जना हराएको उजुरी दर्ता भएका छन् । यसैगरी ०७४÷०७५ मा महिला र बालबालिका गरी २७ जना हराएका छन् । गत आव ०७५÷०७६ असारसम्ममा बालक २० जना, बालिका जना र महिला १९ जना गरी ५७ जना हराएको उजुरी परेको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।

हराएका महिला र बालबालिका आव ०७३÷०७४ मा ३२ जना र ०७४÷०७५ मा १३ जना रहेका छन् । घरबाट हराएका महिला तथा बालबालिकामध्ये खोजी कार्य जारी रहेका छन् । खोज तलासमा रहेका आव ०७३÷०७४ मा २७ जना महिला र बालबालिका, ०७४÷०७५ मा १४ जना व्यक्ति महिला र बालबालिका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभएको छ ।

यस्तै आव ०७५÷०७६ गत वर्षमा हराएका महिला तथा बालबालिकामध्येका खोजी कार्यबाट फेला परेका बालक १९ जना, बालिका १५ जना र महिला आठ जना गरी ४२ जना भेटिएका छन् । आफन्तसँग बुझाएका यस्तै सोही वर्ष खोज तलास प्रक्रियामा रहेका एक बालक, तीन बालिका र ११ महिला गरी १५ जनाको खोजी कार्य भइरहेको प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका इलाका र प्रहरी चौकीमा उजुरी नआएका तर बेवारिसे अवस्थामा फेला पारिएका महिला तथा बालबालिकामध्ये बालक चार जना र बालिका चार जना गरी सात जना रहेका छन् । गएको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सम्पूर्ण जिल्लाका सार्वजनिक निकायका सूचना अधिकारीको सार्वजनिकीकरण तथा बैठकमा सूचना अधिकारी ढुङ्गानाले जिल्लामा गएको आवमा बेपत्ता भएका महिला तथा बालबालिकाको अवस्था यस्तो रहेको तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

प्रहरीले बेपत्ता भएका र सम्पर्कमा नआएका महिला तथा बालबालिकाको खोजी कार्यका लागि प्रहरीले विभिन्न माध्यमबाट खोजी कार्य जारी राखेको छ । आव ०७३÷०७४ र ०७४÷०७५ मा हराएका महिला र बालबालिकामध्येका उनीहरुका अभिभावकले बालक, बालिका र श्रीमती हराएको उजुरी दिएको र खोजी कार्य गर्दा नभेटिए पनि आफैँ सम्पर्कमा आएका कारण उनीहरुले भेटिएको खबर नदिँदा उक्त सङ्ख्या यथावत् रहेको प्रहरी निरीक्षक ढुङ्गानाले राससलाई बताउनुहुन्छ ।

प्रतिक्रिया