एक सातादेखि टेलिफोन सेवा बन्द

राष्ट्रिय समाचार समिति

हुम्ला, १६ असार : दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । असार पहिलो हप्ता चङ्खेली गाउँपालिका–३ मेल्छाममा रहेको टेलिफोन टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन सेवा पुनः सञ्चालन नहुँदा मेल्छाम, दार्मा, सर्केगाडलगायतका बासिन्दा सञ्चारबाट विच्छेद भएका छन् । टेलिफोन गर्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को गाउँ पुग्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष धनलाल चौलागार्इंले बताउनुभयो । टेलिफोन सेवा सञ्चालन गर्नेतर्फ सरोकारवाला उदासीन भएको स्थानीय वडा नं ३ का सपना ऐडीले गुनासो गर्नुभयो ।

नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले नेपालगञ्ज क्षेत्रीय निर्देशनालयबाट टेलिफोन मर्मतका लागि प्राविधिकको टोली आउने तयारी गरिरहेको जानकारी दिनुभयो । प्राविधिक टोली आएर मर्मत गरेपछि मात्रै सेवा सञ्चालन हुने भएकाले अझै केही दिन सञ्चारमा कठिनाइ हुनसक्ने उहाँँले बताउनुभयो । रासस

प्रतिक्रिया