जसका लागि जिउँदो भगवान बनिन् रेखा लोप्चन (भिडियो साहित्)

मनिषा थापा

पिएनपिखबर : वि.स २०७२ साल बैशाख १२ गतेको भूकम्पले चिरा-चिरा परेको सानो दुई तले घर। घरको छेवैमा र आँगनमा सायद गाईवस्तु र कुखुराको लागि बनाईएको दुईवटा छाप्रो, घरको एकापट्टि पिढीमा बाख्रा बाध्ने खोर। त्यही खोरमै खाना बनाएर खाने चुलो, पिढीको अर्कोपट्टि गाँसिएको एउटा सानो छाप्रो, छाप्रोभित्र चार खुट्टे काठको खाटमाथि ओछ्याएको पुरानो तन्ना, छेवैमा लडिरहेको पुरानो स्पिकर, भित्तामा टाँगीएको डोरीमा झुन्ड्याईको थोत्रा कपडा ! सरसर्ती हेर्दा निकै हृदय विदारक लाग्ने यो घर ९० वर्षीय दल बहादुर भुजेलको हो।

गोरखा जिल्ला गण्डकी गाउँपालिका -३ फुजेलस्थित उक्त घरमा जसोतसो गुजारा गर्दै थिए जन्मजात नै अपाङ्ग भुजेल परिवार। उक्त घर हेर्दा जति उदेक लाग्दो छ त्यो भन्दा चार गुणा बढी उदेक त् भुजेल परिवारको दु:ख र पिडा देख्दा लाग्थ्यो। ९० वर्षिय दल बहादुर भुजेल नाती-नातिना खेलाएर शान्तिको श्वास फेरेर बस्नु पर्ने उमेर, त्यो खुशी त परको कुरा उल्टो तीन/तीन जना अपाङ्ग छोराछोरीहरु (राम भुजेल, चंख बहादुर भुजेल र देविमाया भुजेल ) स्याहारेर बस्नु पर्दा उनको जीवनमा खुशी र शान्ति भन्ने कुरा एकादेशको कथा जस्तै भएको थियो ।

अपाङ्ग नै भए पनि आफ्नो मुटुको टुक्रा तीन जना छोराछोरीको मुख हेरर उनीहरुलाई स्याहार गर्दै जसोतसो खुशी हुने कोसिस गर्दै आएका दल बहादुरको जीवानमा फेरी अर्को बज्रपात पर्यो। उनी हिडडुल गर्न नसक्ने भए। विगत १० वर्ष देखि उनी पनि थला परे। अब उनीहरुको परिवारमा एकले अर्कोको मुख हेरेर चित्त बुझाउनु शिवाय केहि गर्न सक्ने केहि भएन। भुजेल परिवारको दु:खका दिनहरु यसरी नै बित्दै थिए। सायद उनीहरुको जीवनमा सुखको दिन आउँछ भन्ने सपनामा पनि देख्न छाडिसकेका थिए होलान। तर १२ वर्षमा बगेको खोला फर्किन्छ भन्ने उखान उनीहरुको जीवनमा मेल खायो। उनीहरुको जीवनमा खुशी र सुख दिने प्रण गरेर गोरखाकै रेखा तामाङ( लोपचन) देवीको रुपमा प्रकट भईन ।

सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएको साथीले भुजेल परिवारको दु:ख बारे जानकारी दिए पछि रेखा दल बहादुरको घर खोज्दै पुगेकी थिइन्। उनी पुग्दा दल बहादुरको परिवारको निकै नै दर्दनाक अवस्था देखेर उनले सहयोगको अभियान चलाइन। उनले अभियान त चलाईन तर सहयोग जुट्छ भन्नेमा उनी ढुक्क चाहिँ थिईनन् । तर पनि उनले हिम्मत हारिनन्। सहयोग उठे उठ्छ नउठे आफुसँग भएको २/३ लाखले जस्तो सकिन्छ घर बनाइदिन्छु तर वृद्ध बुवाको आशामा तुषारापात हुन् दिन्न भनेर उनले अठोट गरिन।

उनले सहयोग अभियान चलाउन शुरु गरेपछि उनलाई देशविदेशबाट सहयोग आउन थाल्यो । सबैको साथ र सहयोगले रेखाको अभियानले सार्थकता पाउँदै गयो र अन्तत : शुरु भयो भुजेल परिवारको घर बनाउने अभियान।

यसरी दु:खको पोखरीमा डुबेर सुख खोज्दै तड्पिरहेका भुजेल परिवारको जीवनमा रेखाले एका-एक खुशी भर्दै थिइन् उनको घर बन्ने कार्यक्रम पनि शुरु हुँदै थियो तर भुजेल परिवारमा अर्को ठुलो बज्रपात पर्यो, खुशी टिपेर तैरने कोशिस गरिरहेका भुजेल परिवारको खुशी दैवले देख्न सकेननं कि क्या हो ? दलबहादुरको असामायिक निधन भयो।

रेखाको साथ् पाएर उनीहरुले दु:ख कष्ट बिर्सिने कोशिस गर्दै नयाँ घरमा बस्ने सपना देखेर रमाउँदै थिए । उनीहरुको घर पनि लगभग बनिसकेको थियो, मात्र घरमा चाहिने सर-सामान मिलाउनु थियो र पुरानो घर छोडर नयाँ घरमा सर्नु बाँकी थियो । भूकम्पले चिरा-चिरा परेको पुरानो घरमा सुत्दा डरले कतै घर भत्किएर केहि भई पो हाल्छ कि भन्ने चिन्ताले हर रात अनिदै रात कटाउन बाध्य उनीहरुले नयाँ घरमा सुतेर बाँकी रहेको जीवनको मिठा-मिठा सपना देख्ने कल्पनामा डुब्दै थिए। यस्तै-यस्तै कल्पनामा डुबेर हास्दै गरेका उनीहरुको मुहारमा धेरै दिन खुशी देख्न सकेनन् दैवले र फेरी आँशुको पोखरीमा धकेलिदिए। उनीहरुको खुशी फेरी खोसियो। उनीहरुकी बिहिनीको पनि मृत्यु भयो।

अहिले उनको परिवारमा दुई अपाङ्ग दाजुभाई मात्र छन। उनीहरु हिड्डुल गर्न सक्दैनन्। खाना पकाएर खान समेत् उनीहरुलाई निकै मुस्किल पर्छ। तर पनि पापी पेटको सवाल छ, जसरी पनि खानै पर्यो, उनीहरु चार हात खुट्टाले घिस्रेर चुलोसम्म जान्छन र चुलोमा बसालेको भाडोलाई काठको लौरोले अड्याएर जसो तसो काँचो पकाएर भोक मेटाउछन। दैनिकी निकै कष्टकर बन्दै आएको छ ।

जसको खुशीको लागि नयाँ घर निर्माण गरेको त्यहि परिवारको बुवाछोरीले नै नयाँ घरमा पाइला टेक्न नपाई एक वर्षको अवधिमा यो संसार छोडेर भगवानको साथमा गएपछि “कतै मैले घर हस्तान्तरण गर्न ढिला त गरिन ? यस्तै हो भने मैले उनीहरुलाई कहिले खुशी देख्न सक्दिन भन्ने कुराले अभियन्ता रेखा तामाङ्गलाई मनमा चसक्क बिज्यो रे ! त्यसैले सबै काम कुराहरु थाती राखेर भए पनि मैले भुजेल परिवारलाई चाँडोभन्दा चाँडो घर हस्तान्तण गरिहाल्नुपर्छ भन्ने सोचेर यो कार्यक्रम आयोजना गरेँ” ,अभियन्ता रेखाले भनिन।

अनेक आरोह अवरोह पार गर्दै निर्माण पुरा भएको अपाङ्ग मैत्री नयाँ घर अभियन्ता रेखा तामाङ्गले अन्तत : भुजेल परिवारलाई हस्तान्तरण गरेकी छिन। सामाजिक अभियन्ता रेखा तामाङ लोप्चनको अभियानमा निर्मित चार कोठे घर असार २१ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेकी हुन्।।
दुवै दाजुभाई अपाङ्ग भएकोले खाना बनाएर खान समेत असमर्थ छन। त्यसैले उनीहरुका नाममा एउटा अक्षयकोष खडा गरेर जम्मा भएको पैसाले भुजेल दाजुभाईलाई बिहान बेलुका खाना बनाएर खुवाउने र उनीहरुको कपडा धोइदिने एक जना कर्मचारी राखिदिन पाए केहि राहत मिल्थ्यो भन्ने अभियन्ता रेखाको चाहना छ।

यदि तपाईहरु पनि रेखा तामाङ्ग लोप्चनको हातमा हात मिलाएर भुजेल परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने रेखाको फोन नम्बर ९८४९८५०४९९ मा सम्पर्क गर्नुहोला।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू