बुवालाई नाती हेर्दै गर्नु भनेर पानी लिन गएका दम्पती कोठामा फर्किँदा छोरो पानी ट्यांकीमा मृत अवस्थामा फेला

शर्मिला गुरुङ

बनेपा, १७ साउन :  बनेपा नगरपालिका ६ मा डेरा गरी बस्दै आएका ध्रुव खरेलका तीन वर्षीय छोरा अभिनव शुक्रबार बिहान पानी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन् । कोठामा बुवालाई नाती हेर्दै गर्नु भनेर एक घण्टा अघि मात्र छोरो ओछ्यानमै छाडेर पानी लिन गएका खरेल दम्पती फर्किँदा छोरा हराइसकेको बताउँछन् ।

बालकका बुवा ध्रुव खरेलले आफू पानी लिन निस्किएको बेला बुवा चर्पी गएको र सोही समयमा छोरा हराएको हुनसक्ने बताए । छोरो हराएपछि खोजी गर्ने क्रममा रिजर्ब ट्यांकी खोलेर हेर्दा मृत अवस्थामा फेला परेको उनले बताए । तीन वर्षको बालकले ट्याङ्कीको ढकन खोल्न नसक्ने बताउँदै अभिनवको कसैले हत्या गरेर फालिएको हुनसक्ने उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले घटना शंकास्पद भएकोले शूक्ष्म अनुसन्धान गरी सत्य छिट्टै बाहिर ल्याउने बताए । निदाइरहेको बालकको केही समयपछि नै ट्याङ्की भित्र शव भेटिनु रहस्यमय भएको भन्दै स्थानीयले सत्यतथ्य छानबिन गर्न प्रहरीलाई आग्रह गरेका छन् । चितवनको राप्ती नगरपालिका स्थाई घर भएका खरेल दम्पती बनेपामा डेरा गरी बसेका थिए । दम्पती डेरा नजिक ग्यारेज सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया