सर्मी गाउँमा एक घर एक धारा

कृष्ण रोकाया

जुम्ला १८ साउन :जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँमा एक घर एक धारा विस्तार भएको छ । कूल रु ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि सर्मीका सबै घरमा धाराको पहुँच पुगेको हो ।

कर्णाली प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु १० लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आएको सर्मी ठूली गौरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुनबहादुर कुवरले जानकारी दिनुभयो ।

कूल १५७ घरधुरी भएको सर्मीमा अहिले घरघरमा बालमैत्री धारा छन् । दुई दशक अघिदेखि जम्मा चार धाराको भरमा बाँच्दै आएका यहाँका बासिन्दा अहिले घरघरमा धारा पुगेपछि खुशी भएका छन् ।

विसं २०५८ मा गाउँमा निर्माण गरिएका चारवटा धाराको पनि मर्मत नहुँदा जीर्ण बनिसकेका थिए । “गाउँमा सबैभन्दा ठूलो दुःख पानीकै थियो, अब दुःख टर्ने भयो” अध्यक्ष कँुवरले भन्नुभयो ।

यसपटक मुहानदेखि घरसम्म दीर्घकालसम्म टिकाउ हुनेगरी निर्माण खानेपानी पाइपको विस्तार गरिएको छ । “पहिले अधिकांश समय पानीको जोहो गर्नमै बित्थ्यो । बालबालिका कतिपय दिनमा विद्यालय जानबाट समेत बञ्चित हुने गरेका थिए” अध्यक्ष कँुवरले भन्नुभयो ।
प्रत्येक घरमा धारा पुगिसकेकाले अब गाउँलेकोे जीवनशैली नै परिवर्तन हुने स्थानीयवासीको भनाइ छ । ‘‘आगनमै धारो पुगेपछि अब पानीकै लागि चिन्ता गर्नुपर्ने दिन गए, स्थानीय रामदेवी कुँवरले भन्नुभयो ।”रासस

प्रतिक्रिया