कोलकातामा भानुजयन्ती

कृष्ण रोकाया

काठमाडौँ १८ साउन :भारत पश्चिम बङ्गाल राज्य हावडामा यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनकल्याण समिति कोलकाताले आयोजना गरेको कार्यक्रममा नरविक्रम थापाको सम्पादकत्वमा प्रकाशित ‘बिहानी’ पत्रिकाको २० औँ अङ्क विमोचन हुनाका साथै कविता र गीत वाचन तथा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो ।

सो अवसरमा साहित्यकार चन्दले सांस्कृतिक एकता नभएसम्म राष्ट्रिय एकता दरिलो नहुने बताउनुभयो । विदेशमा प्रत्येक व्यक्ति नेपाली अवैतनिक राजदूत हुने बताउँदै समितिले प्रत्येक नेपालीलाई एकताको सूत्रमा बाँधेकामा सन्तोष व्यक्त गर्नुभयो । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले वेदव्यास, पाणिनी नेपालकै भएको र ‘वाल्मीकि रामायण’, ‘भागवतगीता’, ‘अष्टावक्र गीता’ आदि नेपालमै लेखिएको जिकिर गर्दै संस्कृत वाङ्मयमा ५५ प्रतिशत योगदान नेपालले दिएको बताउनुभयो ।

भारत पश्चिम बङ्गाल राज्यका सहकारीमन्त्री अरुप रायले आफ्नो सरकारको नेपालीहरुसँग राम्रो सम्बन्ध रहेको बताउँदै आफ्नो पशुपतिनाथको दर्शन गर्ने इच्छा प्रकट गर्नुभयो । सो अवसरमा उहाँलाई समितिका सल्लाहकार धर्मराज बरालले पशुपतिनाथ र नेपालका हिमालहरुको तस्वीर हस्तान्तरण गर्नुभएको थियो ।

आयोजक समितिका अध्यक्ष भीमबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्राज्ञ प्रा हेमनाथ पौडेलले ‘आदिकवि भानुभक्त आचार्य र उनको कवित्व’शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्ने क्रममा आचार्यका कतिपय कवितामा व्यक्त विचार आजको आँखामा आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएको र युगसापेक्ष दृष्टिले मूल्याङ्कन गर्दा ती आफ्नो युगका विशिष्ट प्राप्ति हुन् भन्नुभयो ।

समितिका अध्यक्ष बद्रीविक्रम थापाले २३ वर्षदेखि समितिले कोलकातामा भानुजयन्ती मनाउँदै नेपाल र नेपालीलाई जोड्ने काम गरेको बताउनुभयो । सो अवसरमा देवी नेपाल, श्याम रिमाल, गोपीकृष्ण ढुङ्गाना, नारायणप्रसाद होमगाईँ, सहदेव कोइराला, आशा बराल, टीकाराम भित्रीकोटी र जीतेन्द्र जीतांशुले कविता वाचन गर्नुभएको थियो।

सरोजिनी शिलाले आचार्य र रवीन्द्रनाथ ठाकुरका कविता नेपालीमा अनुवाद गरी गीतिलयमा प्रस्तुत गर्नुभएको थियो । भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल र सदस्य पुष्कर आचार्य, सनातन संस्कृति समाजका महासचिव पुष्प पराजुली, साहित्यकार रामप्रसाद पन्त, राजेन्द्र गुरागाईँ, कुवरवीरसिंह मार्तण्ड, प्रा सत्यप्रकाश तिवारी, कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका नायब महावाणिज्यदूत नारायणप्रसाद शर्मा, अन्तरराष्ट्रिय हिन्दी परिषद्का अध्यक्ष हृदयनारायण मिश्र र पुनाका गुरु सन्तोषकान्तले नेपाल भारत सम्बन्ध तथा नेपाली, भाषा, साहित्य, धर्म र संस्कृतिको महत्वबारे बोल्नुभएको थियो । सो अवसरमा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाललगायतलाई सम्मान गरिएको थियो ।

त्यसअघि बिहान पहिलो सत्रमा प्राज्ञ डा देवी नेपालले ‘सिर्जनात्मक लेखनः सिकाइ र क्रियाकलाप’ कार्यशाला चलाई बालबालिका, युवा, प्रौढहरु पद्य कविता लेखन प्रशिक्षण दिनुभएकोे थियो । कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो । कोलकाताको अलिपुर रोडलाई सन् २००७ देखि ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ भने नेपाली जनसेवा समाजको पहलमा सन् २०१७ मा नदिया जिल्ला कोल्लानीमा भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ ।

पूर्वप्रधानमन्त्री चन्दले भारत उडिसा राज्यस्थित किट विश्वविद्यालयमा वैदिक स्मृति प्रयोगशालाको उद्घाटन गर्नाका साथै ६४ योगिनी मन्दिरको दर्शनका साथ महामण्डलेश्वर दिव्यानन्द गुरुमहाराजको आश्रममा रुद्राभिषेक गर्नुभएको थियो । रासस

प्रतिक्रिया