उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित

admin

काठमाडौं, साउन २०: उच्च आर्थिक एवं व्यापारिक महत्वको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्र्याक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन ।

उत्तर–दक्षिण व्यापारिक राजमार्ग आयोजनाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र विस्फोटक पदार्थ (जिलेटिन)को आपूर्ति तथा बङ्कर निर्माणमा ढिलाइ हुँदा ट्र्याक खोल्ने कार्य अवरुद्ध बनेको हो । आयोजना प्रमुख शिव नेपालले कुल ३९० किलोमिटरको कोसी करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताए ।

करिडोर निर्माण भएपछि ३९० किलोमिटर दूरीले दुई विशाल छिमेकी चीन र भारतलाई जोड्ने छ । उत्तर दक्षिण व्यापारिक मार्गअन्तर्गत कोसी करिडोर निर्माण आयोजना राष्ट्रिय गौरवको आयोजना हो । कोसी करिडोरलाई हिमाल, पहाड र तराई मधेस जोड्ने आर्थिक समृद्धिको एक महत्वपूर्ण मार्गका रूपमा हेरिन्छ । करिडोरले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम हुँदै सङ्खुवासभा जिल्लालाई जोड्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

प्रतिक्रिया