नागपोखरीमा मेला

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० साउन : काठमाडौँ नगरपालिका–१ स्थित नागपोखरीमा आज मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा अन्य ठाउँबाट आएका भक्तजनको भीड लाग्ने गर्छ ।

वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधरणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमाको दर्शन गरेका छन् । उक्त प्रतिमा जीर्ण भएका कारण पूmल, अक्षतालगायत वस्तु चढाउनका लागि प्रतिबन्ध लगाइएको वडा–१ का सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्राचीनकालमा निर्माण गरिएको उक्त पोखरीमा नागको बसोबास रहेको र उनीहरु मानव कल्याणका लागि क्रियाशील रहेको किंवदन्ती रहेको पाइन्छ । नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति मिल्ने विश्वास छ ।

यहाँ राखिएका विभिन्न बिक्री कक्षबाट प्राप्त रकमलाई पोखरी क्षेत्रको विकास र स्तरोन्नतिका लागि खर्च गरिने क्लबका सहसचिव राजन श्रेष्ठले बताउनुभयो । नागपोखरीको विशेषताबारे प्रचारप्रसार गर्ने उद्देश्यले एक दशकदेखि मेलाको आयोजना गरिँदै आएको छ ।

यसैबीच हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्वीर टाँसेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताका रूपमा पूजा गर्ने चलन छ । बिहानै स्नान गरी नागको चित्र वा मूर्तिलाई गाईको गोबर अथवा गहुँको पीठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यू, दुबो, कुश, फूल, सिन्दूर, चन्दनलगायतले पूजा गरी, धूप, दीप, नैवेदसहित प्रार्थना गरी घरको ढोकामा टाँस्ने परम्परा छ ।

प्रतिक्रिया