शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी : मन्त्री पोखरेल

राष्ट्रिय समाचार समिति

ललितपुर, ७ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताउनुभएको छ । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उहाँले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

“शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्”, शिक्षामन्त्री पोखरेलले भन्नुभयो, “यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ ।” विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उहाँले बताउनुभयो ।

समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने छ ।” हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको उहाँको भनाइ थियो ।

‘सार्वजनिक विद्यालयको सवलीकरणमा आजको प्राथमिकता’ भन्ने उद्देश्य बोकेको सो सम्मेलनले शिक्षामा भित्रिएको प्रक्रिया, आयात र निर्यातलाई बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । सरकारले २०७६ देखि २०८५ साल सम्मलाई ‘सार्वजनिक विद्यालय सवलिकरण’ घोषणा गरिसकेको उहाँले जानकारी गराउनुभयो । सरकारले नेपालको जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या ५०० भन्दा बढी भएमा त्यसले १० प्रतिशत, विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १२ प्रतिशत र विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने घोषणा गरेको उहाँको भनाइ छ ।

सरकारले ल्याएको ‘एक विद्यालय एक बिरुवा’ अभियानले पर्यावरण सन्तुलनमा जोड दिनुका साथै वातावरण सुधार गरी समय सापेक्ष ज्ञान निर्माण गर्न सहयोग गर्ने उहाँको विश्वास छ । राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृतको क्रममा अघि बढेको शिक्षा मन्त्रीले जानकारी गराउनुभयो ।

फाउण्डेसनका अध्यक्ष शान्त्ता दीक्षितले गुणस्तरीय शिक्षामा निर्माणमा सिकाइ केन्द्रित छ वटा मूल विषय रहेका सम्मेलनमा उपस्थित शिक्षक सामु बताउनुभयो । उहाँले भन्नुभयो, “सिकाइ केन्द्रित प्रारम्भिक बालविकास, गरेर सिक्ने शैली, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी र दिगो विकासको लागि शिक्षाको योजनाले सहयोगी भूमिका निर्वाह गर्ने छ ।” तीन दिने सो सम्मेलनले नेपालमा गुणस्तरीय शिक्षा निर्माण गर्न सहयोग पु¥याउने बताइएको छ ।

प्रतिक्रिया