भीमसेन जात्रा मनाइँदै

राष्ट्रिय समाचार समिति

ललितपुर, ७ भदौ : ललितपुरको मङ्गलबजार परिसरमा आज साँझ भीमसेन जात्रा मनाइँदै छ । व्यापार व्यवसायमा लागेका हरेक मानिसले भीमसेनलाई आरध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनको पूजा र आरधनाले वैभव वृद्धि हुँदै जाने जनविश्वास छ । प्रत्येक वर्ष भाद्र कष्ण नवमीका दिन भीमसेन जात्रा मनाइने चलन छ ।

आज साँझ करीब साँढे ४ देखि ५ बजेसम्म भीमसेनको सानो मूर्तिलाई पीतलको खटमा ल्याएर विराजमान गराई पहिलो चरणमा पूजाआजा गर्ने गरेको मङ्गल टोल सुधार सङ्घका उपाध्यक्ष ज्ञानुराज श्रेष्ठले जानकारी दिनुभयो ।

“प्राचीनकालदेखि पूज्ने भीमसेनको विराठ मूर्तिलाई उचालेर ल्याउन सम्भव नभएकाले सानो मूर्तिलाई घुमाउने गरेका छौँ”, श्रेष्ठले भन्नुभयो, “करीब साँढे ७ देखि ८ बजे भित्रमा सो मूर्तिलाई पाटनको विभिन्न भागमा परिक्रमा गराउने तयारी भएको छ ।” गत वर्षमा मध्यरातमा गरिने सो जात्रा यो वर्ष चाँडै शुरु गरिने उहाँले बताउनुभयो । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले धुप बालेर विशेष पूजा गरिने नेवार समुदायको भनाइ छ ।


भीमसेन मन्दिरमा आज बिहान ५ बजेदेखि नै पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भिड लागेको सङ्घले जनाएको छ । सो जात्रामा उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेको सङ्घका महासचिव वीरन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

“जात्रामा ९० प्रतिशत नेवार समुदायका मानिसले सहभागिता जनाउने गरेका छन्”, महासचिव श्रेष्ठले भन्नुभयो, “पाटनमा रहेका चार भीमसेनमध्ये च्यासल, सुन्धारा, छयबहालका अतिरिक्त मङ्गलबजारको मुख्य मन्दिरमा मेला लाग्नुका साथै जात्रा हुने गर्छ ।” भगवान् दर्शनमा लाइन लागेका मानिसलाई ४ बजे रोकी जात्राका लागि भगवान् तल ल्याउने काम केही घण्टाअघि गरिने बताइएको छ । जात्राको क्रममा खटमा राखिएको सो भीमसेनको मूर्तिलाई ‘भीमसेन महाराजकी जय’ भन्ने जय जय कार गरी रथ उठाउने गरेको पाटनवासीले बताएका छन् । सो जात्रा गर्दा भीमसेनलाई मङ्गलबजार, हखा, सुन्धारा, ओकुबहाल, थैना, पूर्णचण्डी, गाःबहाल, पिमबहाल, बङ्गलामुखी, कोबहाल हुँदै मङ्गलबजार ल्याइन्छ ।

नगरपरिक्रमाको काम समापनपछि सो मूर्तिलाई पाँच वा १० मिनेटबाहिर चोकमा राखी पुनःमन्दिरमा भित्र्याउने चलन रहेकोे सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिनुभयो । “भीमसेन भगवान्लाई नगर परिक्रमा गराउँदा कुनै गल्ती भयो की भन्दै हाँस काटेर क्षमा पूजा गर्ने चलन रहेको छ”, सचिव धारीले भन्नुभयो, “मन्दिर दर्शन गर्न १० आँै हजार मानिस पाटन आउने गरेका छन् ।” सो दिनमा नेवार समुदायका मानिसले सकेसम्म भोजभतेर खाने परम्परा रहेको बताइएको छ ।

जात्राको अवसरमा अगाडि भीमसेनको रथ पछाडि विभिन्न बाजा नगरा, खिँ, मृदन्ग र धिमे बजाएर सुगन्धमय धूपबाली भजनकिर्तन गरी हिड्ने गरेको सो मन्दिरका पूजारी रमेश कपालीले जानकारी दिनुभयो । “नगरपरिक्रमा गर्दा तीनदेखि चार घण्टाको समय लाग्छ”, कपालीले भन्नुभयो, “जात्राको चाँैथो दिन बोका काटी चतुर्थी पूजा गरेर करीब सात समय मानिसले भोज खाने गरेका छाँै ।”

जात्राको भोजलाई भव्यताका साथअघि बढाउन ललितपुर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले ठूलो रकमको आर्थिक सहयोग गर्नुभएको छ । भीमसेन जात्राको स्वागतमा पाटनका टोलवासीले आफ्ना घर–घरमा पूजाको सामग्री लिएर बस्ने गर्छन् । भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाज जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने गरेका छन् ।

प्रतिक्रिया