भागेका दुई अभियुक्त १० घण्टा नबित्दै पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० भदौ: मोटरसाइकल चोरी मुद्दामा रुपन्देहीमा पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याउने क्रममा थानकोटबाट भागेका दुई अभियुक्तलाई प्रहरीले १० घण्टा नबित्दै आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका रामेछाप लिखु–तामाकोशी गाउँपालिका–१ घर भई काठमाडौँको टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरीद गर्ने भीमबहादुर सुनार आज बिहान ४ः३० बजेको समयमा भागेका थिए ।

सो जानकारी आएलगत्तै खटिएको प्रहरी टोलीले दुवैलाई थानकोट क्षेत्रबाटै अपराह्न १ बजे पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूलाई भदौ ७ गते इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि चोरी भएको स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू ल्याउने क्रममा उनीहरु बिहान भागेका थिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाइएको राठौरले जानकारी दिनुभयो । नेपालीले भदौ ४ गते काठमाडौँ नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट प्रकाश तामाङको नाममा रहेको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया